भेलामा सहभागी आमाहरु ।

हेटौंडाः ५८ औं राष्ट्रिय बाल दिवस—२०७९ को अवसरमा ‘बालमैत्री समाजको आधार, जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने मुल नाराका साथ भीमफेदी–१, सानुटारमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयले आमा भेला गरेको छ । शैक्षिक सुधारका लागि शनिबार आमा भेला व्यवस्थापन विभागको आयोजनामा दोस्रो आमा भेला गरिएको हो ।

शिक्षासँग आमाहरु नजिक भई आफ्ना बालबालिकाको पढाइप्रति चासो देखाउनुपर्ने भन्दै भेला गरिएको छ । विद्यालयका कक्षा ५ देखि ७ सम्मका विद्यार्थीका आमाहरुको भेला गरिएको बताइएको छ ।

आफ्ना बालबालिका पास भए या फेल भए र कुन विषयमा कमजोर छन् भन्ने कुरा अभिभावकलाई जानकारी दिन आमा भेला गरिएको भेला व्यवस्थापन विभाग संयोजक राधा सिन्तानले जानकारी दिनुभयो । २ वर्षदेखि कोरोना महामारीका कारण मिहिनेत गरेर पढ्नुपर्छ भन्ने सोच विद्यार्थीमा हराउँदै गएको र इन्टरनेटका कारण पढ्ने बानी कमजोर हुँदै गएको अवस्थामा भेला उपयोगी भएको उहाँले बताउनुभयो । अभिभावक र विद्यालयको सहकार्यमा शैक्षिक गुणस्तर विकास र दक्ष जनशक्ति उत्पादन गर्न भेलाले सहयोग पुग्ने विश्वास विद्यालयले लिएको उहाँको भनाइ छ ।

भेलामा सहभागी आमाहरुले मासिकरुपमा आफ्ना बालबालिकाको पढाइको अवस्था बुझ्न विद्यालय आउने प्रतिबद्धता व्यक्त गरेका छन् । भेलामा प्रथम त्रैमासिक परीक्षा २०७९ को नतिजा र विद्यार्थीको प्रगति विश्लेषण गरी आगामी कार्ययोजना तर्जुमा गरिएको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामेश्वर थिङको सभाध्यक्षतामा भएको भेलामा प्रधानाध्यापक मानबहादुर घलानको उपस्थिति थियो । शिक्षक उमेश थिङ, उपेन्द्रप्रसाद जयसवाल र शकुन्तला लामिछानेले विद्यार्थीको नतिजा प्रस्तुत गरी विश्लेषण गर्नुभएको थियो ।

भेलामा करिब ७० जना आमाहरुको उपस्थिति हुने लक्ष्य राखिए पनि २० जनामात्र आमाहरुको उपस्थिति भएको सिन्तानले जानकारी दिनुभयो । यसअघि भदौ २१ कक्षा ईसीडीदेखि कक्षा ४ सम्मका विद्यार्थीका आमाहरुको भेला भएको थियो । विद्यालयमा करिब ३ सय ५० जना विद्यार्थी अध्ययनरत् छन् ।