हेटौंडाः बागमती प्रदेशका जिल्लाहरुमा विभिन्न घटनामा परी ५ जनाको मृत्यु भएको छ । मकवानपुरको मनहरी गाउँपालिका–९, खरङ्गामा शौचालय जाने क्रममा लडेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ जिल्ला घर भई हाल खरङ्गामा डेरा गरी बस्दै आएका ५५ वर्षीय रामचन्द्र अधिकारी रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएकोे छ ।
खरङ्गास्थित लक्ष्मी सापकोटाको घरमा डेरा गरी विद्युत् लाइनसम्बन्धी काम गर्दै आएका अधिकारी पिसाब फेर्न शौचालय जाने क्रममा अचानक ढलेर अचेत भएका थिए । बेहोस भएपछि उपचारका लागि घरबेटी र उनीसँगै बस्ने साथीले हेटौंडा अस्पताल ल्याएका थिए । उपचारको क्रममा बुधबार बिहान ५ बजे हेटौंडा अस्पतालका डाक्टरले अधिकारीलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
यस्तै मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर २ बरेटारमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६२ बर्षीया कालिमाया स्याङ्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मंगलबार साँझ ७ बजेर १५ मिनेटको समयमा आफ्नै घर नजिकैको बारीमा गएको अवस्थामा अविरल बर्षासँगै अचानक परेको चट्याङ लागेर स्याङ्तानको मृत्यु भएकोे जनाइएको छ । चट्याङ लागेर मृत्यु भयो भन्ने खबर प्रहरीलाई प्राप्त हुनासाथ प्रहरी टोली खटेर घटनास्थल सुरक्षित राखिएको थियो ।
काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका–२, खोलेमा मंगलबार दिउँसो १२ बजेको समयमा करेन्ट लागेर ५० बर्षय दुर्गाराज तामाङको मृत्यु भएको छ । आफ्नै घरमा सञ्चालन गर्दै आएको मकै पिस्ने मिलमा करेन्ट लागी तामाङको मृत्यु भएको हो । मकै पिस्ने क्रममा अचानक करेन्ट सर्ट हुन गई खुट्टामा करेन्ट लागि मृत्यु भएको भन्ने खबर प्राप्त भएपछि प्रहरी टोली खटी गएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
चितवन जिल्लाको राप्ती नगरपालिका–९, पिङटोलमा क्याम्पाबाट मेलबजारतर्फ जाँदै गरेको ना ४६ प ३७९३ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई विजुलीको पोलमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक ४२ बर्षीय प्रेम तामाङको मत्यु भएको हो । टाउकोमा गम्भीर चोट लागेका तामाङलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएको थियो । उपचारको क्रममा तामाङको मंगलबार राती साढे २३ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा पछाडि बस्ने ४६ बर्षीय राजकुमार तामाङको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
यस्तै बिपि राजमार्गमा खुर्कोटबाट काठमाडौंतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक सर्लाही जिल्लाको कविलासी नगरपालिका–९, सलमपुरका २५ बर्षीय विकास कुमार यादवको मृत्यु भएको छ । सोमबार दिउँसो १ बजेर ४० मिनेटको समयमा प्रदेश २–०३–००४ प ९१३१ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका यादवलाई उपचारका लागि धुलिखेल अस्पतालमा भर्ना गरिएको थियो । घाइते यादवको सोमबार राती साढे ११ बजेको समयमा मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।