हेटौंडाः आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मकवानपुरले उम्मेदवार चयनका लागि उम्मेदवारहरुको नाम प्रदेश कमिटीलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
जिल्ला पार्टी कार्यालय हेटौंडामा मंगलबार बसेको बैठकले प्रत्यक्षतर्फ मकवानपुरको दुई प्रतिनिधिसभा क्षेत्रमा ४ जना र प्रदेशसभा ४ वटा क्षेत्रमा १० जनाको नाम प्रदेश कमिटीलाई पठाउने निर्णय गरेको हो ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा संविधानसभा सदस्य तथा पार्टीका केन्द्रीय सदस्य प्रल्हाद लामिछाने र जीवन गोलेको नाम सिफारिस गरेको छ । बैठकले प्रदेशसभातर्फ क्षेत्र नम्बर १ को ‘क’ र ‘ख’ का लागि ५ जनाको नाम सिफारिस गरेको छ । १ को ‘क’मा पार्टी प्रदेश कमिटी उपाध्यक्ष प्रेमबहादुर पुलामी मगर, केन्द्रीय सदस्य बिजय गौतम र जिल्ला समन्वय सचिव भीमबहादुर पाख्रिनको नाम सिफारिस भएको छ भने १ को ‘ख’का लागि हेटौंडा उपमहानगर पार्टी अध्यक्ष तीर्थबहादुर थापा मगर र ज्ञानेन्द्र लामिछानेको नाम सिफारिस भएको छ ।
यस्तै, प्रतिनिधिसभा क्षेत्र नम्बर २ का लागि बैठकले दुई जनाको नाम सिफारिस गरेको छ । पोलिटब्युरो सदस्यसमेत रहनुभएका मकवानपुर जिल्ला इन्चार्ज कुमारी मोक्तान र केन्द्रीय सदस्य रामनारायण बिडारीलाई सिफारिस गरेको छ ।
प्रदेशसभाका लागि क्षेत्र नम्बर २ को ‘क’ र ‘ख’ मा पनि ५ जनाको नाम सिफारिस गरिएको छ । २ को ‘क’का लागि पोलिटब्युरो सदस्य कुमारी मोक्तान, उपत्यका विशेष प्रदेश कमिटी उपाध्यक्ष प्रकाशचन्द्र पाण्डे (प्रलोक) र प्रदेश कमिटी सदस्य लबशेर बिष्टको नाम सिफारिस गरिएको छ । क्षेत्र नम्बर २ को ‘ख’का लागि प्रदेश कमिटी सदस्य ओमबहादुर ग्लान र मनहरी गाउँपालिका पार्टी अध्यक्ष रामप्रसाद कालाखेतीको नाम सिफारिस गरेको पार्टी जिल्ला समन्वय समिति सचिव भीमबहादुर पाख्रिनले बताउनुभएको छ ।











