शिक्षाका लागि राष्ट्रिय अभियानका नवनिर्वाचित पदाधिकारीहरु ।

हेटौंडाः शिक्षाका लागि राष्ट्रिय अभियान (एनसीई) जिल्ला सञ्जाल मकवानपुरको हेटौंडामा भएको पाँचौ जिल्ला भेलाले नयाँ कार्यसमिति चयन गरेको छ । एनसीई मकवानपुरका संयोजक बुद्धवीर लामाको सभाध्यक्षतामा भएको भेलाले नयाँ कार्यसमिति चयन गरेको हो ।

भेलाले ग्रामीण असहाय बालबालिका सामुदायिक पुनस्र्थापना (रुहेल–सीआरसी) हेटौंडाका कार्यक्रम व्यवस्थापक केदार आचार्यलाई संयोजक तथा हिमराईट्स मकवानपुरकी कार्यक्रम संयोजक कुमारी वाईबालाई कोषाध्यक्ष चयन गरेको छ । समितिको सदस्यहरुमा माईती नेपालकी माईती लामा र मन लामा, नारी सीप सृजना केन्द्रकी ज्योति बम्जन, मकवानपुर महिला समूहकी निशा लामा, सिविन नेपालका झविन्द्र ज्ञवाली, बाल कल्याण समाजका कमल फुयाँल, नारी संरक्षण केन्द्रका राम मिजार, शान्ति फाउण्डेशनकी सीता गरुङ, पत्रकार अशोकसुजन श्रेष्ठ, मानबहादुर वाईबा लगायत रहेका छन् ।

एनसीई नेपालको भदौ २३ र २४ गते काठमाडौंमा हुने १३ औं वार्षिक सभा तथा सातौं अधिवेशनका लागि मकवानपुर प्रतिनिधीमा संयोजक आचार्य र कोषाध्यक्ष वाईबालाई तोकिएको छ । त्यसका साथै जिल्ला सभाले एनसीई जिल्ला सञ्जालको विकास तथा क्षेत्र विस्तार गर्दै सदस्यहरुलाई थप सक्रिय बनाउन आवश्यक रणनीति निर्माण गर्नका लागि शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्ति, संस्था तथा निकायलाई सञ्जालमा समावेश गर्ने निर्णय गरेको सदस्य अशोकसुजन श्रेष्ठले जानकारी दिनुभएको छ ।