हेटौंडाः हेटौंडामा शनिबार डेंगु नियन्त्रण गर्ने अभियान अन्तर्गत हेटौंडा–४ मा अभियान सञ्चालन गरिएको छ । हेटौंडा उपमहानगरपालिका र स्वास्थ्य कार्यालय मकवानपुरको संयुक्त आयोजनामा डेंगु नियन्त्रण गर्ने ४ दिने अभियान अन्तर्गत शनिबार हेटौंडा–४ मा अभियान सञ्चालन गरिएको हो ।
अभियान अन्तर्गत शनिबार हेटौंडा–४ का विभिन्न क्षेत्रमा फोहोर पानी जमेको खाल्डा, जम्मा गरेर राखेको टायर, बट्टामा जमेको पानीमा लामखुट्टेका लार्भाहरु नष्ट गरिएको छ । जिल्लामा साउन महिनादेखि भदौ १७ गतेसम्म ५ सय ५८ जनामा डेंगु पुष्टि भइसकेको छ । जसमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ मा सबैभन्दा बढी डेंगु संक्रमित पाइएको जनाइएको छ । हेटौंडा–४ मा शुक्रबारसम्म २ सय २६ जना डेंगु पुष्टि भएको जनाइएको छ ।
डेंगु नियन्त्रण अभियानलाई सम्बोधन गर्नुहुँदै हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाले अहिले हेटौंडामा डेंगु रोगका संक्रमित दैनिक बढीरहेकाले अभियान सञ्चालन गरिएको बताउनुभयो । उहाँले डेंगु नियन्त्रण गर्न सबैले चासो व्यक्त गर्नुपर्ने बताउनुभयो । उहाँले आफ्नो घर वरपरको फोहोर पानी जमेको खाल्डा पुर्न, बट्टाहरुमा पानी जम्न नदिन र सुत्दा झुल लगाएर सुत्न आग्रह गर्नुभयो ।
अभियानमा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, वडा नम्बर ४ का वडाध्यक्ष नवीन सिग्देल, स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरे, हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाई लगायत विभिन्न सामाजिक संघ संस्थाका पदाधिकारीको सहभागिता रहेको थियो ।