नवनिर्वाचित समितिका साथ सामूहिक तस्वीर खिचाउँदै ।

हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकामा विज्ञान शिक्षक समाज गठन गरिएको छ । शनिबार भएको भेलाले महेन्द्र मावि छतिवनका माध्यमिक तहका विज्ञान शिक्षक दुर्गा पराजुलीको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ ।

भेलाबाट उपाध्यक्षमा होशनारायण राय, सचिवमा धन बहादुर लामा, सहसचिवमा शिव प्रसाद बोलखे, कोषाध्यक्षमा सम्झना अर्याल, सहकोषाध्यक्षमा राजु गोलेलाई सर्वसम्मत चयन गरेको छ । यस्तै परिषद्को सदस्यमा योगेश राई, सहदेव खुलाल, बुद्ध थिङ, ईश्वर अधिकारी रहनुभएको छ । भेला आयोजक समितिका संयोजक दुर्गा पराजुलीको सभाध्यक्षता, बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेको प्रमुख आतिथ्य तथा उपाध्यक्ष भक्त बहादुर खत्रीको विशिष्ट आतिथ्यमा पालिकाको सभाकक्षमै विज्ञान शिक्षकको भेला भएको हो । विज्ञान शिक्षक समाज मकवानपुरका सचिव सुवास खनालका अनुसार जिल्ला अध्यक्ष खेमराज लामिछानेले विज्ञान शिक्षक समाजको आवश्यकता र कार्यक्रमको औचित्य प्रष्ट पार्नुभएको थियो ।

कार्यक्रममा बकैयाका प्रशासकीय प्रमुख महेश श्रेष्ठले विज्ञान शिक्षक समाजले पालिकासँग सहकार्य गरेर धेरै कामहरू गर्न सक्ने बताउनु भयो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष लामिछानेले अहिलेको आवश्यकता प्रयोगात्मक शिक्षण रहेको र विज्ञान शिक्षणलाई सैद्धान्तिक मात्र नभई प्रयोगात्मक तवरले अघि बढाउनु पर्ने बताउनु भयो । प्रभात माविका विज्ञान शिक्षक धन बहादुर लामाले सहजीकरण गर्नुभएको कार्यक्रममा जिल्ला कार्यसमिति उपाध्यक्ष भरत पोख्रेल, हेटौंडा नगर अध्यक्ष भुपेन्द्र यादव, नगर सचिव सुदर्शन पौडेल लगायतको सहभागिता रहेको थियो ।