हेटौंडाः नेकपा एमाले मकवानपुर जिल्ला कमिटी सचिवालयको बैठकले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य प्रत्यक्ष निर्वाचनको लागि भदौ १७ गते र १८ गते सम्बन्धित कमिटीको बैठक बसी उम्मेदवारको नाम सिफारिस गर्ने निर्णय गरेको छ । आज बुधबार पार्टी जिल्ला अध्यक्ष एकालाल श्रेष्ठको अध्यक्षतामा र पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यतामा बसेको बैठकले उम्मेदवारको नामावली सिफारिस गर्ने निर्णय गरेको पार्टी जिल्ला सचिव नवीन सिग्देलले जानकारी दिनुभयो ।
जिल्लाबाट प्रत्यक्ष र समानुपातिकतर्फको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उम्मेदवारको अन्तिम सिफारिसको लागि भदौ १९ गते जिल्ला सचिवालय बैठक र २० गते जिल्ला कमिटीको पूर्ण बैठक बस्ने भएको सचिव सिग्देलले बताउनुभयो । प्रतिनिधिसभा तथा प्रदेशसभा समन्वय समितिमा सम्बन्धित क्षेत्रका जिल्ला सदस्य, पालिका कमिटीका पदाधिकारी, पार्टी वडा कमिटीका अध्यक्ष, आमन्त्रित सदस्य निर्वाचित पालिका कमिटीका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष रहने विधानमा व्यवस्था रहेको सचिव सिग्देलले बताउनुभयो । उम्मेदवार सिफारिस गर्दा पार्टीको नीति र कार्यक्रमप्रतिको प्रतिबद्वता, लोकप्रियता र विजयको सुनिश्चिता, पार्टीप्रतिको निष्ठा र आन्दोलनमा योगदान, सन्तुलन र समावेशीता र निर्वाचन कानून बमोजिमको योग्यतालाई ध्यान दिनुपर्ने जनाइएको छ । एक महिलासहित तीन जनाको सिफारिस गर्न सक्ने प्रावधान रहेको जनाइएको छ । बैठकले प्रतिनिधिसभा १ नम्बर क्षेत्रमा अनन्त पौडेल, प्रदेशसभा (क) मा रामचन्द्र राई, (ख) मा गोपाल श्रेष्ठ, २ नम्बर क्षेत्रमा डोरमणि पौडेल, प्रदेशसभा (क) मा नवराज तिमल्सिना, (ख) मा एकराज उप्रेतीलाई सहजकर्ता तोकिएको छ ।
बैठकमा पार्टीका केन्द्रीय सदस्यहरू जुनेली श्रेष्ठ, भारती पाठक, राष्ट्रिय सभा सदस्य रामचन्द्र राई, प्रदेश कमिटीका उपसचिव महेश बर्ताैला लगायतका प्रदेश सदस्यहरूको उपस्थिति रहेको थियो ।