हेटौंडाः राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेश समितिको आयोजनामा अपाङ्गता र मानव अधिकार सवाल विषयक एकदिने छलफल सोमबार हेटौंडामा भएको छ । गैरसरकारी संघ, संस्थाका व्यक्तिहरुसँग छलफल भएको हो । राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेश समितिका अध्यक्ष अस्मिन लम्सालको अध्यक्षतामा छलफल भएको हो ।
छलफलमा सहभागीले मानव अधिकारको हितमा समन्वय र सहकार्य गरी अघि बढ्ने बताएको छ । समाजमा बढ्दै गएको विकृति र विसङ्गतिविरुद्ध सबै एकजुट हुनुपर्ने सहभागीको भनाइ थियो । अपाङ्गता भएका व्यक्तिलाई विभिन्न आश्वासन देखाएर यौन हिंसा तथा बेचबिखन गर्ने घटना बढेकाले सचेत रहनुपर्ने बताएका छन् । कानुनी रुपमा वास्तविक पीडकले कानुनी सजाय पाउन नसकेको बताएका छन् ।
अपाङ्गता र मानव अधिकारको सवालमा राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेश कार्यालयकी कार्यक्रम सहजकर्ता सीता मल्ल ठकुरीले सहजीकरण गर्नुभएको थियोे । बागमती प्रदेशका १३ वटै जिल्लामा १ सय ५० वटा अपाङ्गतासम्बन्धी संस्थाहरु रहेका छन् । कार्यक्रमको उपलब्धि तथा उद्देश्य, चुनौतीबारे सहजीकरण गर्नुहुँदै मल्लले सिविआर कार्यक्रम अन्तर्गत ३ करोड बजेट वर्षेनी विनियोजन हुने गरेको जानकारी दिनुभयो । यस्तै प्रदेशस्तरीय खेलकुद बजेट यस वर्षदेखि समेटिएको बताउनुभयो । जसमा शैक्षिक क्षेत्रमा अपाङ्गता भएका व्यक्ति सबैभन्दा बढी हिंसामा पर्ने गरेको बताउनुभयो । जुन शैक्षिक क्षेत्रमा मात्र २१ प्रतिशत अपाङ्गता भएका व्यक्ति विभिन्न हिंसामा परेको उहाँले जानकारी दिनुभयो ।
