Home मुख्य समाचार त्रैमासिक परीक्षामा उत्कृष्ट विद्यार्थी पुरस्कृत

त्रैमासिक परीक्षामा उत्कृष्ट विद्यार्थी पुरस्कृत

विद्यार्थीलाई पुरस्कार वितरण गर्नुहुँदै प्रधानाध्यापक श्रीराम दाहाल ।

हेटौंडाः हेटौंडा–४, कर्रास्थित श्रमिक माविले प्रथम त्रैमासिक परीक्षामा उत्कृष्ट नतीजा हासिल गर्ने विद्यार्थीलाई पुरस्कृत गरेको छ । सोमबार विद्यालयका प्रधानाध्यापक श्रीराम दाहालले त्रैमासिक परीक्षामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई पुरस्कारस्वरुप शैक्षिक सामग्री वितरण गरिएको जानकारी दिनुभयो ।

पुरस्कृत विद्यार्थीसँग सामूहिक तस्वीर खिचाउँदै ।

विद्यार्थीलाई प्रेरित गर्न त्रैमासिक परीक्षामै पुरस्कृत गरिएको प्रधानाध्यापक दाहालको भनाइ छ । राम्रो नतीजा ल्याए, राम्ररी पढे पुरस्कृत भइन्छ भन्ने बुझाउन त्रैमासिक परीक्षामै पुरस्कृत गरिएको उहाँले बताउनुभयो । अंग्रेजी माध्यमअन्तर्गत पूर्वप्राथमिक, कक्षा १ र ६ को प्रथम त्रैमासिक परीक्षा साउन २ गतेदेखि सुरु भएको थियो । साउन १० गतेसम्म परीक्षा सञ्चालनपछि वर्षे विदा गरिएको थियो ।

श्रमिक माविमा नेपाली माध्यमका कक्षाको आइतबारबाट प्रथम त्रैमासिक परीक्षा सुरु भएको छ । परीक्षा भदौ १३ गतेसम्म चल्ने प्रधानाध्यापक दाहालले बताउनुभयो । श्रमिक माविले यसै शैक्षिकसत्रदेखि पूर्वप्राथमिक तहलाई सुविधासम्पन्न बनाउनुका साथै अंग्रेजी माध्यममा कक्षा सञ्चालन गरेको छ । शैक्षिकसत्र २०७८ को तुलना चालु शैक्षिक सत्र २०७९ मा १ सय २५ जना विद्यार्थी बढेर अहिले श्रमिक माविमा ४ सय २७ जना विद्यार्थी अध्ययनरत छन् ।

Exit mobile version