हेटौंडाः अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बागमती प्रदेश युवा परिषद्ले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज पाँचौ दिन शनिबार पदयात्रा गरिएको छ । “पर्यटन प्रवर्द्धन युवा पदयात्रा” भन्ने नाराका साथ पदयात्रा आयोजना गरिएको हो ।
हेटौंडा–५ स्थित सिँचाइटोलबाट सुरु भएको पदयात्रा मनकामना मन्दिर हुँदै पुनः हेटौंडा–५ स्थित रुद्रेश्वर मन्दिर परिसर पुगेर सभामा परिणत भई समापन भएको थियो । मनकामना मन्दिरमा पदयात्रा टोलीलाई मकवानपुरगढी गाउँपालिकाकी उपप्रमुख मान कुमारी नेपालीले स्वागत गर्नु भएको थियो । बागमती प्रदेश स्काउटको समन्वयनमा भएको पदयात्रामा चितवन जिल्ला र मकवानपुरका स्काउट सदस्यहरुको साथै १ सय जनाभन्दा बढी युवाहरुको सहभागिता रहेको थियो ।
‘अन्तरपुस्ता ऐक्यबद्धता, सबै उमेर समूहमैत्री विश्व निर्माणमा साझा प्रतिबद्धता’ भन्ने मूल नाराका साथ २२ औं अन्तर्राष्ट्रिय युवा दिवसमा सप्ताहव्यापी कार्यक्रम भईरहेको छ । साउन २४ गतेबाट सुरु भएको सप्ताहव्यापी कार्यक्रमको ३० गते समापन हुनेछ । पद यात्रामा बागमती प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाई, बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, जिल्ला बार एसोसियन मकवानपुरका पुर्व अध्यक्ष मदन न्यौपाने लगायतको सहभागिता रहेको थियो ।