प्राविधिक तथा व्यावसायिक शिक्षाप्रति धेरै अभिभावक एवम् विद्यार्थीको आकर्षण छ । प्राविधिक शिक्षा आर्जन गर्न सके सजिलै र राम्रो रोजगारीको अवसर पाइन्छ भन्ने बुझाई अधिकांश विद्यार्थी तथा अभिभावकको छ । तर, प्राविधिक शिक्षा हासिल गर्ने सहज अवस्था नहुँदा परम्परागत शैद्धान्तिक विषय अध्ययन गर्नुपर्ने बाध्यता विद्यार्थीलाई छ । हुन पनि प्राविधिक ज्ञान भएकाहरु कोही बेरोजगार बन्नु पर्दैन । त्यसैले, आजको प्रमुख आवश्यकता भनेको व्यावहारिक, व्यावसायिक र सीपमूलक शिक्षा नै हो । पछिल्लो समय प्राविधिक कलेज खुल्ने क्रमसँगै विद्यार्थी तथा अभिभावकहरुको ध्यान प्राविधिक शिक्षातर्फ केन्द्रित हुन थालेको छ । तर, बागमती प्रदेशको राजधानी हेटौंडामा विश्वविद्यालय तहको इन्जिनियरिङ एवम् स्वास्थ्य क्षेत्रको प्राविधिक शिक्षा दिने शैक्षिक संस्था नहुँदा धेरै विद्यार्थी पढाइबाट वञ्चित हुनुपरेको छ ।

बागमती प्रदेश सरकारअन्तर्गत्को मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापनासँगै हेटौंडामा स्वास्थ्य क्षेत्रको प्राविधिक विषयको पठनपाठन सुरु हुने भएको छ । प्रतिष्ठान स्थापना भएको करिब ४ वर्षपछि बल्ल स्वास्थ्य क्षेत्रको स्नातक तहको तीनवटा कार्यक्रम सुरु हुँदैछ । यसले हेटौंडामै स्वास्थ्य क्षेत्रमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीलाई सुविधा पुग्ने निश्चित छ । यसैगरी, हेटौंडा उपमहानगरपालिकाको अग्रसरतामा हेटौंडाको भूटनदेवी माविमा इन्जिनियरिङ क्याम्पस सञ्चालनको तयारी अघि बढेको छ । हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका बैठकले भूटनदेवी माविमा इन्जिनियरिङ क्याम्पस सञ्चालन गर्ने निर्णय गर्दै प्रक्रिया अघि बढाएपछि हेटौंडामा पनि इन्जिनियरिङ विषयको उच्च शिक्षा हासिल गर्न पाउने सम्भावना बढेको छ । भूटनदेवी माविमा सिभिल इन्जिनियरिङ विषयको स्नातक तहको कार्यक्रम सञ्चालन गर्न उपमहानगरले चासो देखाएको हो ।

जिल्लामै कक्षा ९–१२ मा प्राविधिक धारतर्फको अध्यापन सुरु गर्ने पहिलो विद्यालय भूटनदेवीमै इन्जिनियरिङ क्याम्पस स्थापना पक्कै सहज हुनेछ । हेटौंडा नगरको बीच भागमा रहेको, पूर्वाधार निर्माणका लागि पर्याप्त जग्गा भएको, विद्यालयको आन्तरिक आय राम्रो रहेको र कक्षा ९–१२ मा सिभिल इन्जिनियरिङ विषय पठनपाठन गराइरहेको कारण भूटनदेवीमा इन्जिनियरिङ कलेज खोल्ने प्रक्रिया अघि बढाउनु स्वागतयोग्य मान्नुपर्छ । हेटौंडा उपमहानगरपालिकाको अभिभावकत्वमा स्वतन्त्र र स्वायत्त निकायको रुपमा कलेज स्थापनाको तयारी अघि बढाइएको छ । यसका लागि आवश्यक कानुन निर्माण गर्न उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको संयोजकत्वमा समिति गठन गरिएको छ । भक्तपुर नगरपालिकाको ख्वपः कलेजकै ढाँचामा स्थानीय सरकारको अग्रसरता र अभिभावकत्वमा इन्जिनियरिङ क्याम्पस सञ्चालनको तयारी गरिएको बताइएको छ ।

भूटनदेवी माविबाटै वार्षिक करिब ४८ जना विद्यार्थी सिभिल इन्जिनियरिङको स्नातक अध्ययनका लागि तयार हुने गर्दछन् । यस्तै, जिल्लाकै सुन्दरीदेवी मावि आग्रा र वत्सलादेवी मावि सिस्नेरीमा समेत सिभिल इन्जिनियरिङको कक्षा ९–१२ अध्यापन भइरहेको छ । यस्तै, सीटीईभीटीको सिभिल इन्जिनियरिङ डिप्लोमाको पठनपाठन पनि जिल्लाका केही विद्यालयहरुले सञ्चालन गरिरहेका छन् । यस आधारमा विश्वविद्यालय तहमा सिभिल इन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीको अभाव पक्कै हुनेछैन । विद्यार्थीको रुचि, चाहनाअनुकूलका स्नातक तहमा अन्य प्राविधिक विषयहरु पठनपाठनको उचित व्यवस्थापनका लागि सरोकारवाला पक्षहरु अग्रसर हुनु आवश्यक छ ।