Home मुख्य समाचार बागमती प्रदेशको आगामी वर्षको बजेटको तयारी सुरु

बागमती प्रदेशको आगामी वर्षको बजेटको तयारी सुरु

हेटौंडाः बागमती प्रदेश सरकारको कोरोना रोकथामको कामसँगै आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटको विषयमा छलफल सुरु गरेको छ । प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा सोमबार बसेको बैठकमा बजेट बनाउने विषयमा प्रारम्भिक छलफल भएको हो । कोराना रोकथाम, नियन्त्रण र उपचारसँगै अब आगामी बजेटको तयारी गर्न मन्त्रालयका मन्त्री एवम् सचिबहरुलाई मुख्यमन्त्री पौडेलले निर्देशन दिनुभएको छ ।
छलफल कार्यक्रममा बजेटलाई परम्परागत भन्दा पृथक ढंगले प्रस्तुत गर्नुपर्नेमा सहभागी सबैले सहमति जनाउनुभएको छ । जति संकट भएपनि आन्तरिक रुपमा आगामी बजेटका विषयमा छलफल गर्न केहि समस्या नहुने मुख्यमन्त्री पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिलेको समयमा कार्यलय बन्द गर्ने होइन, भित्र बसेर काम गर्ने हो, जिम्मेवारीहरु धेरै छन्, काम गरौं काममा जुटौं ।’ गएका वर्षहरुमा बनाएका बजेटको समिक्षा गर्नुपर्ने भन्दै मुख्यमन्त्री पौडेलले परम्परागत बजेटका श्रृंखला तोड्न सबैलाई आग्रह गर्नुभयो । हामी हरेक कुरामा परिवर्तन गर्छौ भनेर निर्वाचित भएर आएको भन्दै अब पनि हामीले कामहरुको गति अझ बढाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘कुरा मात्र नयाँ हैन अब काम पनि नयाँ गरेर देखाउनुपर्छ, सबै कुरामा परिवर्तन ल्याउन सरकारले हर सम्भव प्रयास गर्नुपर्छ, नयाँ विचार, नयाँ योजनाका साथ काम गर्नुपर्छ ।’
बजेटलाई कामकाजी मात्र हैन, कसरी प्रभावकारी बनाउन कुन मोडेलको बजेटले हाम्रो प्रदेश समृद्ध हुन्छ त्यो छुट्टाएर काम गर्न सक्यो भने समृद्ध नेपाल सुखी नेपालीको नारा सार्थक बनाउन सहयोग पुग्ने उहाँको धारणा थियो । जनताले अनुभुत गर्नेगरी समाजवाद उन्मुख बजेट सरकारको लक्ष्य रहेको उहाँको भनाइ थियो । हरेक मन्त्रालयले आफ्नो काम हुनेगरी महत्वपूर्ण कुराहरु समावेश गरेर योजना बनाउन पनि उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामीले जनतालाई जे गछौं भनेको थियौं त्यो अनुसार बजेटमा ध्यान दिऔं, पार्टीको घोषणापत्र अनुसार, आवधिक योजना अनुसार, गत वर्षको बजेट कार्यान्वयन भयो कि भएन, नभए किन भएन भन्ने विषयलाई पनि अध्ययन गरौं ।’ आर्थिक वृद्धि र रोजगारीको आधार देशमा सिर्जना गर्नुपर्ने भन्दै यस्ता कुरामा विशेष ध्यान दिन पनि उहाँको आग्रह थियो । देशमा रोजगारी सिर्जना गर्ने अवस्था, शिक्षा, स्वास्थ्य तथा खानेपानीका योजना प्राथमिकता हेरेर योजना बनाउन पनि उहाँको सुझाव थियो । उहाँले भन्नुभयो, ‘साना–साना योजनामा पैसा छरेर परिवर्तन हुन सक्दैन अनि जनताले पनि अनुभुत गर्न सक्दैनन् त्यसैले ‘गेम चेन्जर’ योजना छनोट गरौं, लगानी उत्पादनसँग जोडौं, आधारभुत आवश्यकतालाई जोड दिने गरी बनाऔं ।’ कृषि क्षेत्रको विकासलाई महत्व दिएर योजना बनाउने, कृषिमा आत्मनिर्भरका योजना अगाडि सार्न पनि उहाँले आग्रह गर्नुभयो । विद्यालय, स्वास्थ्य संस्था, उद्योग र कृषि क्षेत्रमा हामी सम्पन्न भयौं भने अन्य विकास हुँदै जाने उहाँको भनाई थियो । कृषि, शिक्षा लगायतका क्षेत्रका अनुदानलाई कटौती गरेर बिना व्याजमा ऋण दिनेगरी बजेट ल्याउने पनि उहाँको भनाइ थियो । बजेट बनाउनुभन्दा अगाडि नीति तथा कार्यक्रम ल्याउनुपर्ने भन्दै सबै मन्त्रालयहरुलाई दुबैको तयारी थाल्नुपर्ने बताउनुभयो ।
बिगतमा भन्दा फरक अनुभुती हुने गरी बजेट ल्याउन छलफल गराउन सुरु गरिएको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बताउनुभयो । अहिले मुलुक कोरोना भाईरसका कारण लक डाउन भएपनि बजेटको तयारी गर्न सकिने भन्दै छलफल गर्न लागिएको आर्थिक मामिला तथा योजना मन्त्री ढुंगेलले जानकारी दिनुभयो । छलफलमा आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फूँयाल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा, सामाजिक विकास मन्त्री युवराज दुलाल, योजना आयोगका कार्यवाहक उपाध्यक्ष श्याम बस्नेतलगायत मन्त्रालयका सचिबहरुको सहभागिता रहेको थियो ।

Exit mobile version