Home कला साहित्य लेखनमा विद्यार्थीको सहभागिता, औपचारिक शिक्षामा सकारात्मक प्रभाव

साहित्य लेखनमा विद्यार्थीको सहभागिता, औपचारिक शिक्षामा सकारात्मक प्रभाव

सम्प्रास पौडेल (लेखक सिस्नुपानी मकवानपुर सदस्य हुनुहुन्छ)

शब्दको माध्यमबाट प्रस्तुत गरिने मानवीय अनुभूति वा रुचीको अर्थपूर्ण अभिव्यक्ति नै साहित्य हो । खासमा साहित्य लेखन कार्यको सिर्जनात्मक कला हो । सूर्ती, चुरोट, गाँजा, रक्सी खाएर मान्छे बिग्रन्छ तर साहित्यमा लागेर कोही बिग्रँदैन । यसैले धेरैभन्दा धेरै पढौं । अनी केही लेखौं । एकपटक लेखौं, पन्ध्र पटक पढौं । आपैंmलाई राम्रो लागेपछि छपाउने कष्ट गरौं । साहित्य सिर्जनाका लागि प्रौढ नै हुनुपर्छ भन्ने छैन, बालबालिकाले पनि आप्mना मनमा उब्जेका ज्वारभाटाहरुलाई रचनात्मक तवरले उतार्न सक्दछन् । अब विद्यालयमा विद्यार्थीहरुलाई साहित्य पठन तथा लेखनमा कसरी रुची जगाउने तथा यस्ता गतिविधिले शिक्षामा के कस्ता सकारात्मक प्रभावहरु पार्दछन् भन्ने चिन्ता गरौं ।

विद्यालयमा के–के पढाउने ? के कक्षागत किताब मात्रै पढाउने हो ?

विद्यार्थीलाई कक्षागत पुस्तक, प्राक्टिस बुक, गाइड, म्यानुअल, प्रश्नपत्र बैंक आदि पुस्तकहरु जम्मा गरेर सिकाइलाई जोड दिन लागिपरेका छौं । कक्षा बढ्दैजाँदा र खाँचोअनुसार त्यसको प्रयोग पनि गर्दै गरौंला तर विद्यालयले हप्ताको एउटा कक्षा मात्रै पुस्तकालय लैजाने र मन लागेको पढ्नका लागि प्रेरित गर्ने हो भने विद्यार्थीहरुले अर्काथरी किताब पढेर थकान मेटिएको महसुस गर्दछन् । बालबालिकाकै लागि लक्षित गरी बाल साहित्यका थुप्रै किताब छापिएका छन्, तिनले अहिले पढ्न नपाए कहिले पढ्ने ? त्यसमा शारीरिक व्यायामसँगसँगै अब मानसिक व्यायामबारे पनि आजै ध्यान दिऔं ।

पुस्तकालयमा के गर्ने ? बजेट अभावमा पुस्तक नै छैन भने के गर्ने ?

१. आफूले पढेको किताबको लेखक, प्रकाशक, पुस्तकको विधा तथा मन परेका कुराहरु टिपोट गर्न लगाउने र भोलिपल्ट कक्षामा एकल वा सामुहिक प्रस्तुती गराउने ।

२. दैनिक रुपमा कुनै न कुनै पत्रिका पढ्ने वातावरण बनाउने । जसका लागि दैनिक पुस्तकालय लैजान मिल्ने अवस्था छैन भने पनि कक्षाकोठाभित्र एउटा टेबलमा पत्रिका फाइलिङ गरी राख्ने व्यवस्था मिलाउने ।

३. पुस्तकालय, कक्षाकोठा तथा शिक्षकको कोठामा अतिरिक्त पुस्तकहरु छैनन् भने यसो गरौंः

– हरेक वर्ष भर्नाका क्रममा एउटा विद्यार्थीले एउटा पुस्तक किनेर विद्यालयलाई दिने व्यवस्था मिलाउने ।
– कुनै पनि विद्यार्थीको जन्मदिनमा शिक्षक र सोही कक्षाका विद्यार्थीहरु मिलेर पैसा संकलन गरी पुस्तक उपहार दिने । शिक्षकले शिक्षकलाई पुस्तक नै उपहार दिने ।
– अतिरिक्त क्रियाकलापका पुरस्कारमा पुस्तक तथा डायरी थप गर्ने ।
– पूर्व विद्यार्थीहरुको सञ्जाल नै बनाएर पुस्तक सहयोग माग गर्ने ।
– साना विद्यालयले ठूला विद्यालयहरुसँग पुस्तक माग गर्ने ।
– पढ्नेहरुले पनि एक पटक पढिसकेको पुस्तक विद्यालयमा दान गर्ने बानी गर्ने ।

झोलामा कस्ता पुस्तक बोक्ने ?

१. हरेक विद्यार्थीसँग महिनामा कम्तिमा एउटा अतिरिक्त पुस्तक हुनुपर्ने नियम बसाल्ने । त्यसलाई खाली घण्टी वा अतिरिक्त कक्षाको व्यवस्था गरी पठन तथा वाचनमा जोड दिने । झोलामा कक्षागत पुस्तकबाहेक अन्य पुस्तक पनि थपिउन् ।

२. कक्षामा खुला दराज बनाएर सबैले पढ्न मिल्नेगरी किताब राखिदिने । घर लैजाने र फिर्ता गर्ने व्यवस्था मिलाउने । त्यसको जिम्मा विद्यार्थीलाई नै दिने ।

लेख्न कसरी प्रेरित गर्ने ?

१. आफ्ना, आफ्ना परिवार, समाज, देश, विद्यालय, शिक्षक, किताब, आमा आदि साझा विषयवस्तुका बारेमा विद्यालय तहमा सामान्य लेखपढ गर्न जानिसकेका सबै विद्यार्थीहरुले केही न केही वाक्यहरु लेख्न जानेका हुन्छन् । त्यसैलाई जोड दिएर लेख्न लगाउने गर्नुपर्छ । बालसाहित्य लेख्न लगाउने अनि पछि विषयान्तर गराउन सकिन्छ ।

२. शिक्षकले पनि केही न केही लेख्ने बानी बसाल्नुपर्छ । अभिभावकहरु पनि अतिरिक्त पुस्तक पढ्ने बानीको विकास गर्नु आवश्यक छ । शिक्षक तथा अभिभावकले पुस्तक किन्न समस्या छ भने अनलाइनमा पाइएका लेखहरु पढ्न तथा सुनाउन लगाउने गर्दा बालबच्चाको पढ्ने बानीको विकास हुन्छ । सोपश्चात् आफ्ना लेख, रचना पत्रपत्रिकामा छपाउने, अनलाइनमा पोस्ट गराउने र त्यसमा विद्यार्थीको पहूँच बढाउनेतर्फ ध्यान दिनु वेश हुन्छ ।

३. हप्ताको अन्तिम दिन कुनै उपयुक्त पुस्तक पढ्न दिने र अर्को साता त्यसबाट सामान्यज्ञान वा अति छोटा उत्तरात्मक प्रश्न वा सारांश शैली वा समिक्षात्मक कार्यक्रम राख्ने र उत्कृष्ट केहीलाई पुरस्कृत गर्नु पर्दछ ।

४. साहित्य लेखन व्यक्तिको आफ्नै क्षमतामा आधारित हुन्छ भनिन्छ । तर प्रयास हदैसम्म गर्नु आवश्यक छ । एक हप्ता कविता, एक हप्ता कथा, अर्को हप्ता मुक्तक, अर्को हप्ता गजल यस्तैखालको तालिका बनाउने र सोहीअनुसारका पुस्तकहरु पढ्नका लागि प्रेरित गर्ने वा शिक्षकले केही नमुना रचनाहरु प्रत्येक कक्षाको सूचना पाटीमा टाँस्ने व्यवस्था गर्ने गर्नुपर्दछ ।

५. माथिका चरणहरु पूरा गरिसक्दा कक्षामा क्रमिक रुपमा धेरै सर्जकहरु बढ्दै जान्छन् । यसपछि विद्यार्थीका चासोका विधासम्बन्धी बेग्लाबेग्लै समूह निर्माण गरी लेखनमा अभिवृद्धि गराउन सकिन्छ ।

६. विभिन्न चरणमा कार्यशालाहरु चलाउने, लेखन क्रियाकलाप बढाउने, प्रतियोगिताहरु गरी उनीहरुलाई प्रोत्साहित गर्न सकिन्छ ।

७. शहरका ठूला ठूला हलहरुमा हुनेगरेका विभिन्न साहित्यिक कार्यक्रमलाई विद्यालयको चौरमा विद्यार्थीका अगाडि नै गराउने व्यवस्था मिलाउनुपर्दछ ।

८. जिल्लाभर हुने गरेका विभिन्न साहित्यिक गतिविधिमा कक्षागत समूहहरु सहभागी गराउनु आवश्यक छ । आफ्नो वा नभए अरुका भए पनि कुनै न कुनै रचना वाचनको अवसर दिलाउने गर्नुपर्दछ ।

यी कामहरु कसले गर्ने ?

यी कामहरु विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, प्रशासक (प्रधानाध्यापक, सहायक प्रधानाध्यापक, तहगत संयोजक), कक्षा शिक्षक, भाषा (नेपाली, अंग्रेजी) शिक्षक तथा अन्य शिक्षकले गर्ने । कतिपय अवस्थामा समितिका पदाधिकारीलाई एसइइको नतिजाबाहेक यस्ता कुरामा चासो हुँदैन । त्यस अवस्थामा प्रशासकहरुले ध्यान पुर्याउनुपर्छ । उनीहरुको पनि ध्यान नगए कक्षा शिक्षक र अन्य शिक्षकहरुले पहल गर्नुपर्छ । आफ्ना कक्षा कसरी रोमाञ्चक बनाउने र हप्ताको एक दिन आफ्ना विषयबाहेक अन्य विषय पढ्न लगाउने काममा कसैको अवरोध हुने अवस्था पक्कै आउँदैन । आआफ्ना ठाउँबाट सबैले पहल गरौं ।

अतिरिक्त पठन र लेखनले नियमित पढाईमा असर त गर्दैन ?
अतिरिक्त पठन र लेखनले गर्दा विद्यार्थीहरुमा पढाईप्रतिको जाँगर बढ्छ । अतिरिक्त पठन क्रियाले मोबाइल गेम, सामाजिक सञ्जालको अतिप्रयोगमा कमी आउँछ । कक्षामा छलफल हुँदा पनि किताबकै कथा, कविता, नाटक आदिमाथि छलफलको क्रियाकलाप बढ्छ ।

हामी के गरिरहेका छौं ?

सबै विद्यालयहरुले केही न केही गरी नै रहेका छन् । यहाँ केही थोरै लगानीमा विद्यार्थीहरुमा पठन र लेखन संस्कृतिको विकासका लागि गर्न सकिने रचनात्मक कार्यहरु मात्रै उल्लेख गरिएका छन्ः

जनप्रिय मावि, हेटौंडा १६ मा रहेको छ । हामीले गणित विषयका लागि गणित भित्तेपत्रिका र कृषि विषयका लागि हरित भित्तेपत्रिका तयार गरी विद्यार्थीहरुका हस्तलिखित रचनाहरु संकलन गर्ने गरेका छौं ।

यहाँ सबैको सहयोगले हामी “एक व्यक्ति एक पुस्तक अभियान” सञ्चालन गरिरहेका छौं । यस अभियानमा जोसुकै व्यक्तिले केवल एक पुस्तक विद्यालयलाई दान दिएर पठन संस्कृतिको बढावाका लागि योगदान गर्न सक्नुहुन्छ । अब पुस्तक कबाडी मूल्यमा बेच्ने होइन, विद्यालयलाई दान दिने बेला हो भन्ने बुझाउने हेतु नै हो ।

विद्यार्थीलाई खाली घण्टी तथा अन्य समयमा पुस्तकालय लगिरहेका छौं । माथिल्ला कक्षाहरुमा कक्षामै प्रत्येकले एक एकवटा पत्रिका पढ्ने अवसर मिलाएका छौं । विभिन्न प्रकाशन गृहका विषयवस्तुसँग सम्बन्धित विभिन्न सहयोगी पुस्तकहरुका साथ अतिरिक्त पुस्तकहरु कक्षाभित्रै उपलब्ध हुँदैछन् । लगातार २ वा ३ पाठ सकिएपछि एउटा घण्टीमा विद्यार्थीलाई केही पुस्तक दिने र शिक्षक पनि कक्षामै बसेर कुनै न कुनै पुस्तक पढ्ने वातावरण बनाउँदैछौं । यसबाट पुस्तक पढ्ने र पुस्तक लेख्ने भावी पुस्ता बन्छ भन्नेमा दृढ छौं ।

यस्तै तल्लो तहका विद्यार्थीहरुका कक्षामा गीत गाउँदै, कविता वाचन गर्दै प्रवेश गर्ने शिक्षक सबैभन्दा प्रिय हुन्छन् । बालबालिकालाई बालकविता, बालकथाहरु भन्ने र त्यसलाई पुनरावृत्ति गराउनेतर्पm ती कक्षाका शिक्षकहरुको भूमिका निकै महत्वपूर्ण हुन्छ । यसैले माथिल्लो कक्षाहरुमा साहित्य लेखनमा बानीको विकास समेत हुने गर्दछ । यसतर्पm हामी सबैले जोड दिनु अत्यावश्यक छ ।

पठन संस्कृतिको विकासका लागि वडादेखि केन्द्र सरकारको मुख ताक्नु पर्दैन । प्रधानाध्यापकले व्यवस्थापन समितिलाई, अनि समितिले अन्यलाई दोषारोपण गर्नुपर्दैन । केवल आफू पढ्ने र विद्यार्थीलाई पढ्ने समय व्यवस्थापन गरिदिए पुग्छ । किताब त साटी–साटी पढ्न सकिन्छ । लगातार धेरै वर्षसम्म एउटै झारा टार्ने कुरा “गर्न त हुन्थ्यो तर ठूला बजेट नआएकोले/मैले मात्रै चाहेर नहुने/के गर्नु यो साल पनि पुस्तकालय बनाउन सकिएन” भन्न पनि पर्दैन । विविध उपाय लगाएर पनि पढ्ने बानीको विकास गरौं, गराऔं । पढ्ने मान्छेले लेख्न पनि सक्छ । ईच्छानुसारका पुस्तकहरु पढ्ने वातावरण बनेपछि साहित्यका विविध विधामा कलमहरु चल्दै जानेछन् । आजै बालकथाको एउटा पुस्तक किनेर घरमा लगी ठूलो स्वरले एक्लै पढ्न थाल्नोस् तपाईँका बालबच्चा रिमोट थन्क्याएर तपाईँकै काखमा बसेर सुन्न थाल्नेछन् । कलम र किताबको शक्ति भयङ्कर पो हुन्छ त ।

(लेखक हेटौंडा–१६, हटियास्थित जनप्रिय माविका शिक्षक हुनुहुन्छ ।)

Exit mobile version