Home मुख्य समाचार एसईई २०७८ को नतिजा र यसको सन्देश

एसईई २०७८ को नतिजा र यसको सन्देश

१. विश्वब्यापि कोरोना भाईरसको महामारीका कारणले २०७६/२०७७ सालको एसईई परीक्षा सम्वन्धित विद्यालयबाटै मूल्याङ्कन गरी परीक्षा बोर्डबाट नतिजा प्रमाणित गरिएको थियो । विद्यार्थीहरुको मूल्याङ्कनका लागि बोर्ड मार्फत निश्चित मापदण्ड निर्धारण गरी सो कार्यान्वयन गर्न निर्देशिका जारी गरिएता पनि उक्त नतिजा ज्यादा आलोचित बनेको तथ्य जगजाहेर छ । २०७६ सालको एसईई परीक्षाको २०७७ भाद्र १ गते बोर्डबाट नतिजा प्रमाणित भएको परीक्षार्थी संख्या ४,७२,०७८ जना मध्ये ९,३१९ जनाले ४ जीपीए प्राप्त गरेका थिए भने २०७७ सालको एसईई परीक्षाको २०७८ श्रावण २३ गते परीक्षा बोर्डबाट नतिजा प्रमाणित भएको परीक्षार्थी संख्या ४,८४,२७८ जना मध्ये ८,४४४जनाले ४ जीपीए प्राप्त गरेका थिए । जबकि २०७८ सालको एसईई परीक्षाफल बोर्डबाट २०७९ श्रावण ११ गते नतिजा प्रकाशन हुँदा कूल परीक्षार्थी ४,९५,७५१ मध्ये मात्र ४२ जनाले ४ जीपीए प्राप्त गरेको भनिएको छ । जबकि यो परीक्षामा प्राविधिक धारतर्फका १४,५६४ जना सहभागी हुनुले उच्च ग्रेड वृद्धिमा थप सहजता पनि स्पष्ट छ । यो नतिजाको तुलनात्मक विश्लेषण संगै अलि पछाडि फर्केर हेर्दा २०७५ सालको कूल ४,५९,२७५ परीक्षार्थी मध्ये ४ जीपीए ल्याउने विद्यार्थी संख्या १०६ जना मात्र थिए र अझ पछाडि जाँदा २०७४ सालको नतिजामा ४ जीपीए प्राप्त गर्नेको संख्या ७४ जना मात्र भएको नतिजाले विद्यालयले गर्ने नतिजा र बोर्डबाट प्रकाशन गरिने नतिजामा ज्यादा अन्तर देखिँदा विद्यालय प्रति विश्वासको संकट देखिनु स्वभाविक मान्नै पर्दछ । जबकि २०७७ सालको नतिजा प्रमाणित गर्ने सन्दर्भमा २४ जिल्लाको नतिजा अस्वभाविक भएको भन्दै परीक्षा बोर्डले चिन्ता ब्यक्त गरेको तथ्य स्मरणीय छ ।

२. विभिन्न शंका उपशंकाका बीच २०७८ सालको एसईई परीक्षा २०७९ वैशाख ९ गतेबाट २००७ वटा परीक्षा केन्द्रमा संचालन भएको थियो । यस परीक्षामा अनिवार्य विषयका प्रदेशगत भिन्न प्रश्नपत्रहरुको प्रयोगसँगै पहिलो पटक प्रदेशगत नतिजा प्रकाशन गरिएको परीक्षा बोर्डले जनाएको छ । परीक्षा बोर्डका अनुशार ४ जीपीए ल्याउने सबैभन्दा बढि वागमती प्रदेशबाट ४,६०२ जना, दोश्रोमा मधेश प्रदेशबाट १,५३१ जना, तेश्रोमा लुम्विनी प्रदेशबाट १२२० जना, चौथोमा प्रदेश नं.१ बाट ११८७ जना ,पाँचौमा गण्डकी प्रदेशबाट ७८४ जना, छैंटौमा सुदुरपश्चिम प्रदेशबाट १९५ जना र सबैभन्दा कम कर्णाली प्रदेशबाट १४४ जनाले ४ जीपीए प्राप्त गरेका छन् । यो परीक्षामा ११,६१५ वटा विद्यालयबाट परीक्षा आवेदन फर्म भर्ने ५,१४,७६० जना भए पनि परीक्षामा सहभागी भने ४,९५,७५१ परीक्षार्थी भएको भनिएको छ । परीक्षा आवेदक मध्ये १९,००९ जना अनुपस्थित हुनु भनेको अर्को चुनौति नै भन्नु पर्दछ । यो तथ्याङ्कबाट ३.६९ प्रतिशत ड्रप आउट परीक्षार्थीको खोजी जरुरी पक्ष हो । यस वर्षमात्र नभै बिगत वर्षहरुमा पनि आवेदन फर्म भर्ने सबै परीक्षार्थी परीक्षामा सहभागी भएको पाईंदैन । २०७६ सालमा परीक्षा आवेदन फर्म भर्ने ४,८२,९८६ जना मध्ये ४,७२,०७८ को मात्र नतिजा प्रमाणिकरण हुँदा १०,९०८ जना अर्थात करिब २.२६ प्रतिशत परीक्षार्थी हराएको र ड्रप आउट परीक्षार्थी संख्या भने क्रमशः बढदै जानुले शिक्षामा विश्लेषणको नयाँ विषय थपिएको महसुस भएको छ ।

३.परीक्षा बोर्डका अनुशार यो नतिजा पछिल्लो निर्देशिका बमोजिम प्रकाशन गर्ने प्रयत्न सहज नभएकै कारणले अन्तमा बिगतकै मापदण्ड बमोजिम प्रकाशन गरिएको जनाएको छ । मिति २०७८ पौष ७ गते मंत्रीस्तरीय निर्णय भै २०७८ साल फागुन १८ गते पहिलो संसोधन गरिएको लेटर ग्रेडिङ निर्देशिका २०७८ मिति २०७८/११/२६ मा प्रकाशित भएको हो । यस निर्देशिकाले तत्कालिन ९ वटा ग्रेडलाई ८ वटा कायम सहित अन्य ब्यवस्थामा परिमार्जन गरेको छ । पहिलो ग्रेड ए प्लसमा ९० भन्दा माथि अंकलाई सर्वोत्तम र ४ जीपीए , त्यस्तै दोश्रो ग्रेड ए मा ८० देखि ९० सम्म ३.६ जीपीए अत्युत्तम, तेश्रोमा बी प्लस ७० देखि ८० अंकसम्मका ३.२ जीपीए उत्कृष्ट, चौथो बी ग्रेडमा ६० देखि ७० अंकसम्मका २.८ जीपीए उत्तम, पाँचौ सी प्लसमा ५० देखि ६० अंकसम्मका २.४ जीपीए सन्तोषजनक, छैटौं ग्रेड सी मा ४० देखि ५० अंकसम्मका २ जीपीए ग्राह्य, सातौं ग्रेड डी मा ३५ देखि ४० अंकसम्मका १.६ जीपीए आधारभूत र आठौं ० देखि ३५ अंकसम्म एनजी अर्थात अवर्गिकृत कायम गरेको छ । उक्त निर्देशिकाले कक्षा ८, १० र १२ का विषयगत परीक्षामा आन्तरिक तर्फ न्यूनतम सी ग्रेड अर्थात ४० अंक र सैद्धान्तिक तर्फ न्यूनतम डी ग्रेड अर्थात ३५ अंक ल्याउनेलाई मात्र मूल प्रमाणपत्र प्रदान गरिने र अन्य कक्षाका हकमा समेत यस निर्देशिका संग नबाझिने गरी विद्यालयले प्रमाणपत्र दिन सक्ने भनी किटानी ब्यवस्था गरेको छ । यसै संसोधित लेटर ग्रेडिङ निर्देशिका बमोजिम एसईईको नतिजा प्रकाशन गर्ने परीक्षा बोर्डको निर्णय अन्तिममा असहज भएको अर्थात ब्यापक विद्यार्थी कक्षा ११ पढ्नबाट बन्चित बन्ने अवस्था आएकै कारणले फेरी निर्णयमा फेरबदल गरी पुरानै अर्थात बिगतकै क्राईटेरिया बमोजिम यस वर्षको एसईई नतिजा प्रकाशन गरिएको भनाई बाहिर आएको छ । बिगतका दुई वर्षहरु कोभिड —१९ महामारीका कारणले शिक्षामा अधिक क्षति पुगेको र पढाई नै ज्यादा अवरुद्ध भएको कारणले शैक्षिक स्तरियता अत्यन्त कमजोर रहेको स्विकार गरिएको छ ।

४. अन्तमा, संसोधित लेटर ग्रेडिङ निर्देशिका २०७८ हाल कक्षा ९ मा अध्ययनरत विद्यार्थीबाट कार्यान्वयन गर्दा उपयुक्त देखिन्छ । आगामी शैक्षिक सत्रबाट कक्षा ५, ८ र १० मा परिमार्जित पाठ्यक्रम लागु हुनेछ र मूल्याङ्कनका सबालमा समेत नयाँ पाठ्यक्रमबाट नयाँ मूल्याङ्कन सहज र तर्कयुक्त बन्न सक्छ । पाठ्यक्रम पुरानो अनि मूल्याङ्कन भने नयाँ निश्चय नै असहज त बन्छ नै । अर्को तर्फ एसईई परीक्षा खारेजीको माग उठेको दुईचार वर्ष बिति सकेको छ । यता, विधि कानूनले विद्यालय तहको अन्तिम परीक्षा कक्षा १२ को अन्तमा लिने गरी तोकिसकेको छ । कक्षा १२ सम्मको शिक्षालाई संविधानले स्थानीयतहमा सुम्पिएको भनिएको छ । राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० र कक्षा १२ गरी दुईवटा साईनबोर्डमा सरोकारवाला झुक्किनेगरी भिन्न दुई कार्यालयमार्फत् नाटक नै देखाईएको भन्दा अत्युक्ति नहोला । ब्यक्तिगत पदीय स्वार्थका आधारमा नीति विधि बनाईन्छ जबकि विधि कानून अनुशार ब्यक्ति को ब्यवस्थापन हुनुपर्ने हो । कक्षा ८ को परीक्षा स्थानीयतह, कक्षा १० को एसईई परीक्षा प्रदेश सरकार र कक्षा १२ को परीक्षा बोर्ड मार्फत संचालन गर्ने भनि नीति विधि बनाईएको पनि दूईचार वर्ष बिति सकेको छ । हाम्रो समस्या भनेकै गोडा अनुशारका जुत्ता किन्ने भन्दा जुत्ताको साईजमा गोडा काट्ने प्रणाली नै घातक साबित भैसकेको छ । तयारी बीना जारी गरिने नीति निर्देशिकाको परिणाम यस वर्षको एसईई को नतिजा प्रकाशनसँग जोड्न सकिन्छ ।

Exit mobile version