हेटौंडा औद्योगिक क्षेत्र नेपालकै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र हो । क्षेत्रफलको हिसाबले सबैभन्दा ठूलो भए पनि यहाँ उद्योग स्थापना गर्न चाहनेका लागि जमिन बाँकी छैन । नयाँ उद्योग स्थापनका लागि जमिनको अभाव भएसँगै हेटौंडा औद्योगिक क्षेत्र विस्तारको चर्चा चलको भए पनि हेटौंडा–१४, मयूरधापमा अर्को औद्योगिक क्षेत्र बन्ने भएपछि यसको विस्तारको चर्चा सेलाएको छ । ३ हजार २ सय २८ रोपनी क्षेत्रफलमा फैलिएको हेटौंडा औद्योगिक क्षेत्रले २ हजार एक सय ७८ रोपनी जग्गा उद्योगका लागि भाडामा लगाएको छ । बाँकी जमिन भने सडक, ढल, पानी, खुला मैदान, विद्युत् सवस्टेशन, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको कार्यालय आदि पूर्वाधारमा उपयोग गरिएको छ ।
अहिले हेटौंडा औद्योगिक क्षेत्रका उद्योगीहरु औद्योगिक क्षेत्रको भाडा वृद्धिको विरोधमा उत्रिएका छन् । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले एकपक्षीयरुपमा देशभरका औद्योगिक क्षेत्रको भाडादर वृद्धि गरेको भन्दै उद्योग संघ मकवानपुरले विरोध जनाएको हो । संघले भाडावृद्धि आवश्यक नभएको भन्दै प्रेस विज्ञप्ति जारी गर्नुका साथै सुझावसमेत पेश गरेको छ । २०७२ सालको भूकम्प, नाकाबन्दी, कोभिड–१९ को मार, रसिया–युक्रेन युद्धलगायतका कारणले उत्पन्न विषम् परिस्थितिमा वृद्धि भएको भाडा तिर्न नसक्ने भन्दै उद्योग संघले संघीय सरकारको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुलाई ज्ञापनपत्र बुझाएको छ । बिहीबार बिहान हेटौंडा आइपुग्नुभएका मन्त्री बडुलाई ज्ञापनपत्र बुझाइएको हो । उद्योगीले कुनै पनि हालतमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले बढाएको भाडा भुक्तानी गर्न नसक्ने उल्लेख गर्दै उद्योग संघ मकवानपुरले जमिन बहालसम्बन्धी समस्याको दीर्घकालीन समाधानको उपाय अबलम्बन गर्न मन्त्रीको ध्यानाकर्षण गराएको छ ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले देशभरका १० वटा औद्योगिक क्षेत्रको भाडादरमा ९८ दशमलव ५२ प्रतिशतदेखि ६ सय ८७ दशमलब ७९ प्रतिशतसम्म वृद्धि गर्ने निर्णय गरेको छ । हेटौंडा औद्योगिक क्षेत्रको भाडादर १ सय ३६ दशमलब ३४ प्रतिशतले वृद्धि गर्ने निर्णय गरिएको जनाइएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय नाफामै सञ्चालन भइरहेको भन्दै भाडादर वृद्धि आवश्यक नभएको उद्योग संघको जीकिर छ । हेटौंडा औद्योगिक क्षेत्रसँग नयाँ उद्योग स्थापनाका लागि जग्गा अभाव छ । केही जग्गा व्यवसायीले उद्योग स्थापना गर्ने भन्दै लिएर राखेका छन् । तर, उनीहरु तत्काल उद्योग खोल्ने छाँटकाँटमा देखिएका छैनन् । नयाँ व्यवसायी जग्गा खोज्न आएमा दिने जग्गा छैन । जग्गा भाडामा लिएर उद्योग सञ्चालन नगरेका व्यवसायीलाई कारबाही गरेर नयाँ उद्योगलाई जग्गा भाडामा दिएर आम्दानी बढाउन उद्योग संघले उपाय सुझाएको छ ।
औद्योगिक क्षेत्रमा सडक, ऊर्जा, पानी, सुरक्षालगायत उद्योगका लागि आवश्यक पूर्वाधारको विकास गरिएकाले यस्ता क्षेत्रमा उद्योगीहरु उद्योग खोल्न आकर्षित हुन्छन् । अन्यत्र जग्गा खरिद गरेर वा भाडामा लिएर उद्योग खोल्नुभन्दा औद्योगिक क्षेत्रको जग्गा तुलनात्मकरुपमा सस्तो पर्दछ । भएका औद्योगिक क्षेत्रको विस्तार र नयाँ औद्योगिक क्षेत्र स्थापना गरेर औद्योगिक वातावरण सहज बनाउनु आवश्यक छ । आधारभूत पूर्वाधार निर्माण गरिएको जग्गा उद्योग स्थापनाका लागि महत्वपूर्ण आवश्यकता हो भन्ने तथ्यलाई ध्यानमा राखेर उद्योगीलाई सहुलियत दरमा सहजरुपमा जमिन उपलब्ध गराउन सकेमा औद्योगिक विकास सम्भव हुन्छ । भएका उद्योगलाई धराशायी बनाउने गरी एकै पटक दोब्बरभन्दा बढी जग्गा भाडा वृद्धि गर्नु उचित देखिँदैन ।
