हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडामा ३ सय ५० वटा टोल विकास संस्था दर्ता भएका छन् । १६ वटा टोल विकास संस्था वडा समन्वय समिति छन् भने एउटा टोल विकास संस्था नगर समन्वय समितिको रुपमा दर्ता छ ।
आगामी भदौ ४ गते शनिबार टोल विकास संस्था नगर समन्वय समिति हेटौंडा उपमहानगरपालिकाको तेस्रो साधारणसभा तथा अधिवेशन हुँदैछ । नारी र श्रमिकका पक्षमा कार्यक्रमहरु टोलटोलमा पुर्याउनुपर्छ भन्ने उद्देश्यले उक्त कार्यक्रम हुने जनाइएको छ । यस्तै स्थानीय तहको स्वच्छ र फूलैफूलको शहर अभियानलाई कार्यान्वयन गर्न टोल विकास संस्थाले पहल गर्ने भएका छन् ।
सामाजिक र विकासको पाटोलाई कार्यान्वय गर्न टोल विकास संस्था आवश्यक छन् । संस्थाहरु आफैंमा नारीलक्षित रहेको टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष धु्रवप्रसाद अधिकारीको धारणा छ । स्थानीय तहले पनि लक्षित वर्गका लागि कार्यक्रम निर्माण गरेका हुन्छन्, तर ती कार्यक्रम कार्यान्वयन हुन सकेको छैन । कार्यान्वयनको पक्षमा टोल विकास संस्थासँगै स्थानीय तहलाई जोड्न साधारणसभा तथा अधिवेशनमा जोड दिइने बताइएको छ ।
टोल विकास संस्था स्थानीय तहको अभिन्न अंग हुन् । टोलमा हुने महिला हिंसा, बालश्रम, लागूऔषध सेवन तथा बेचविखनजस्तालाई निराकरण गराउन स्थानीय तहको भूमिका हुन्छन् । लक्षित वर्गका लागि स्थानीय तहले ल्याइएका कार्यक्रमलाई प्रभावकारी बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो । पूर्णरुपमा कालो प्लाष्टिकमुक्त नगर बनाउन टोल विकास संस्था अघि बढिरहेका छन् । बचत, ऋण र लगानीलाई पारदर्शी बनाउन टोल विकास संस्थाले अहम् भूमिका खेलेको उहाँको भनाइ छ । सरसफाई, बचत संकलन, विकास कार्यकोे गुणस्तरीयतालाई अनुगमन गर्ने उद्देश्यले संस्था परिचालित रहेका छन् ।
