Home मुख्य समाचार साताव्यापी कार्यक्रम गरेर अन्तर्राष्ट्रिय युवा दिवस मनाइने

साताव्यापी कार्यक्रम गरेर अन्तर्राष्ट्रिय युवा दिवस मनाइने

सप्ताहव्यापी कार्यक्रमको विषयमा जानकारी गराउँदै ।

हेटौंडाः बागमती प्रदेश सरकाले सप्ताहव्यापीरुपमा विभिन्न कार्यक्रम गरेर अन्तर्राष्ट्रिय युवा दिवस मनाउने भएको छ । प्रत्येक वर्ष अगष्ट १२ का दिन अन्तर्राष्ट्रिय युवा दिवस मनाउने गरिएको छ ।

सोमबार बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकालको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले जनाकारी दिनुभयो । अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा सप्ताहव्यापीरुपमा कार्यक्रम आयोजना गरी मनाउने भएको हो । कार्यक्रम सञ्चालन गर्न युवाका क्षेत्रमा कार्यरत व्यक्ति, संस्था र सम्पूर्ण सरोकारवालाहरुको सहभागितामा १ सय १ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । कार्यक्रम साउन २४ गतेदेखि ३० गतेसम्म सञ्चालन हुनेछ ।

कार्यक्रममा पहिलो दिन साउन २४ गते वृक्षरोपण कार्यक्रम गर्ने, २५ गते रक्तदान कार्यक्रम गर्ने, २६ गते खुला साइक्लिङ कार्यक्रम गर्ने, २७ गते प्रभातफेरी गर्ने, २८ गते पर्यटन प्रवद्र्धन युवा पदयात्रा गर्ने, २९ गते सरसफाई कार्यक्रम र ३० गते “अन्तरपुस्ता एक्येबद्धता सबै उमेर समूहमैत्री विश्व निर्माणमा साझा प्रतिबद्धता” शीर्षकमा अन्तरक्रिया कार्यक्रम गरी मनाउने निर्णय गरेको उपाध्यक्ष चौलागाईंले जनाकारी दिनुभयो ।

उपाध्यक्ष चौलागाईंको संयोजकत्वमा कार्यक्रम सञ्चालन गर्न सचिवालय गठन भएको छ । सचिवालयमा गैरसरकारी संस्था महासंघ, नेपाल स्काउट, राजनीतिक दलका ८ युवा र विद्यार्थी संगठन, जिल्ला युवा समितिका अध्यक्षहरु, रिकभरिङ नेपाल प्रदेश कमिटी, रेडक्रसलगायत संस्थाको प्रतिनिधित्व रहने चौलागाईंले जानकारी दिनुभयो ।

Exit mobile version