Home मुख्य समाचार गर्मीबाट जोगिउँ

गर्मीबाट जोगिउँ

देशभर गर्मी निकै बढेको छ । गर्मीमात्र हैन कि यसले मानिसको स्वास्थ्यमा समेत समस्या पार्दछ । मनसुन जारी रहे पनि पर्याप्त पानी नपर्दा गर्मी बढेको हो । गर्मीका कारण तराई क्षेत्रका धेरै विद्यालयहरुमा विदा दिइएको छ भने पहाडी जिल्लाहरुमा विद्यालय प्रभावित हुन थालेका छन् । हेटौंडामा समेत केही विद्यालयहरु गर्मी छल्न भन्दै छुट्टी दिइएका छन् । मौसम पूर्वानुमान महाशाखाले एक हप्ताका बीचमा ३ देखि ७ डिग्री सेल्सियससम्म तापक्रम बढेको जानकारी गराएको छ । मनसुन जारी रहेको अवस्थामा अधिक गर्मी बढ्नुमा जलवायु परिवर्तनको असर भएको विज्ञहरुको दावी छ । आफ्नै क्रियाकलापबाट सिर्जित दुष्परिणामको शिकार हुन मानिस बाध्य भएको छ ।

गर्मी अधिक बढेसँगै मौसमजन्य रोगबाट अस्पताल आउने मानिसको संख्या बढ्दै गएको छ । गर्मीका कारण विभिन्न स्वास्थ्य समस्या आउन सक्ने भन्दै यसबाट जोगिन चिकित्सकले सुझाव दिएका छन् । गर्मीमा पकाइएको खानेकुरा केही घण्टामै बिग्रने भएकाले बासी तथा सडेगलेका खानेकुरा नखान, धेरै मसलायुक्त खानेकुरा नखान, पानी उमालेरमात्र पिउन, काँचो र नपाकेका खानेकुरा नखान विज्ञहरुको आग्रह छ । तर असावधानीका कारण बिरामी हुनेको संख्या बढेको छ । हेटौंडाका अस्पतालहरुमा पनि बिरामीको चाप निकै बढेको छ । जाडो महिनाको तुलनामा दोब्बर पानी पिउन, घरबाट बाहिर जानु परेमा पूरै शरीर ढाक्ने कपडा लगाउने तथा छाता अनिवार्य ओड्ने गर्दा गर्मीको असरबाट केही हदसम्म बच्न सकिने विज्ञहरुको सुझाव यतिबेला मनन्योग्य छन् ।

ज्वरो, खोकी, रुघा र निमोनिया गर्मी मौसमका प्रमुख समस्या हुन् । यस्तै छाला सुख्खा, श्वासरोग, टन्सीलाइटोस, जोर्नी दुखाई तथा शरीर चिलाउने समस्य बढी हुने गर्दछन् । सामान्य सावधानीले पनि यस्ता रोगबाट बच्न सकिन्छ । शारीरिक सावधानीदेखि खाने–पिउने बानीमा सुधार गर्न जरुरी हुन्छ । सागसब्जी, फलपूmलजस्ता बस्तु खाँदा सफापानीले राम्रोसँग धुनु आवश्यक हुन्छ । नत्र पेटसम्बन्धी अनेक समस्या आउने विज्ञहरुको सुझावलाई व्यवहारमा लागू गर्नुको विकल्प छैन । गर्मीले सबै उमेर समूह प्रभावित हुने भए पनि विशेषगरी बालबालिका तथा बृद्धबृद्धालाई ध्यान दिनु पर्दछ । झाडापखाला भएमा शरीरमा पानीको मात्रा छिटै सकिने जोखिम बढी हुन्छ । यस्तो अवस्थामा चिकित्सकको सम्पर्कमा पुग्नै पर्दछ ।

लामो समयसम्म खडेरी परेमा जुनसुकै अवस्थामा पनि मानिस जोखिममा पर्न सक्छ । हिँड्डुल गर्ने वा व्यापार व्यवसाय गर्नेहरुले बिहान बेलुकाको समय सदुपयोग गर्नु जरुरी हुन्छ । यस्तै विद्यालयहरु केही दिनका लागि बन्द गर्न गराउन तयार हुनु पर्दछ । बच्चाको ज्यानभन्दा केही दिनको पढाई ठूलो हुन सक्दैन । गर्मी बढेसँग हेटौंडा उपमहानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरु २२ साउनसम्म बन्द भएका छन् । यसले विद्यार्थी र अभिभावकलाई केही राहत दिएको छ । उपमहानगरपालिको शिक्षा महाशाखाले तयार पारेको शैक्षिक क्यालेण्डरअनुसार विद्यालयमा वर्षे विदा दिइएको छ । सामुदायिक विद्यालय बन्द भएका कारण अत्यधिक गर्मीको समयमा बालबालिकाहरुलाई घरमै बस्ने सुविधा प्राप्त भएको छ ।

Exit mobile version