हेटौंडाः नेपाल बुद्धिचाल संघको महासचिवमा मकवानपुरका धरम लामा निर्वाचित हुनुभएको छ । सोमबार काठमाडौंमा सम्पन्न संघको सातौं साधारणसभाबाट महासचिवमा लामा सर्वसम्मत निर्वाचित हुनुभएको हो । यसअघि लामा सचिव हुनुहुन्थ्यो । यस्तै अध्यक्षमा इलामका विदुरप्रसाद गौतम निर्वाचित हुनुभएको छ ।
२२ सदस्यीय राष्ट्रिय समितिमा उपाध्यक्ष र खुला सदस्यका लागि मात्रै निर्वाचन भएको थियो । वरिष्ठ उपाध्यक्षमा मोरङका राजेन्द्रप्रसाद रिजाल निर्वाचित हुनुभयो । ३ जना उपाध्यक्ष पदका लागि ५ जनाको उम्मेदवारी परेको थियो । उपाध्यक्षमा कैलालीका धनबहादुर बोगटी, रुकुमपूर्वका सुवोध राज शेर्पाली र काठमाडौंका नारायण दास गमाल निर्वाचित हुनुभयो । सचिवमा खोटाङकी मोनालिसा खम्बु, दोलखाका उमेश केसी र झापाका भुपेन्द्र निरौला निर्वाचित हुँदा कोषाध्यक्षमा काठमाडौंका ज्ञानेन्द्र महर्जन, सहकोषाध्यक्षमा काभ्रेका यज्ञप्रसाद पन्त निर्वाचित हुनुभयो ।
खुला सदस्यतर्फ झापाका कृष्णप्रसाद सिग्देल, काठमाडौंका प्रविण बहादुर भँडेल र पर्साका रामकिशोर सिंह विजयी हुनुभयो । महिला सदस्यमा चितवनकी पार्वती श्रेष्ठ, १ नम्बर प्रदेशबाट दिपेन राई, मधेश प्रदेशबाट सुरेन्द्र कुमार साह, बागमती प्रदेशबाट निरन्जन प्रजापति, गण्डकी प्रदेशबाट महेश अधिकारी, लुम्बिनी प्रदेशबाट चन्द्रमणि गैरे, कर्णाली प्रदेशबाट शक्तिराम बुढा, सुदुरपश्चिम प्रदेशबाट गोपाल श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभयो ।
नेपाल बुद्धिचाल संघको संस्थापक नारायणकृष्ण जोशी हुनुहुन्छ भने क्रमशः अनिरुद्र जोशी, सिताराम अग्रहरी, हिराबहादुर स्थापित, राजेश हरि जोशी र एकालाल श्रेष्ठले अध्यक्षको जिम्मेवारी पूरा गर्नुभयो । राजेश हरि जोशी र एकालाल श्रेष्ठ मकवानपुरबाट प्रतिनिधित्व गर्दै राष्ट्रिय अध्यक्ष बन्नु भएको हो । नेपाल बुद्धिचाल संघको कार्यकाल ४ वर्षको रहेको छ ।











