हेटौंडाः मकवानपुर जिल्लाको उत्तरी क्षेत्रमा रहेको जनकल्याण माध्यामिक विद्यालयले “प्रथम जनकल्याण शैक्षिक मेला–२०७९” आयोजना गर्ने भएको छ । जनकल्याण माविको व्यवस्थापनमा थाहा नगरभित्र रहेका विद्यार्थी माझ शैक्षिक ज्ञान आदानप्रदान गर्ने उद्देश्यसहित शैक्षिक मेला आयोजना गर्न लागेको विद्यालयका प्रधानाध्यापक सानोभाई कार्कीले बताउनुभयो ।
थाहा नगरमा रहेका विद्यालयका प्रधानाध्यापक, प्रतिनिधि र सञ्चारकर्मीहरु बीच भएको अन्तरक्रिया कार्यक्रममा प्रधानाध्यापक कार्कीले नगर भित्रका विद्यालयहरु बीच शैक्षिक गुणस्तर मापन, विद्यार्थीहरुको क्षमता विकास र शैक्षिक ज्ञान आदानप्रदान गर्नका लागि शैक्षिक मेला फलदायी हुने बताउनुभयो ।
अन्तरक्रिया कार्यक्रममा प्रधानाध्यापक कार्कीले यही असार ३० र ३१ गते जनकल्याण मावि प्राङ्गणमा हुने शैक्षिक मेलामा सहभागी हुन थाहा नगरका सम्पूर्ण अभिभावक, शिक्षक, विद्यार्थी, पत्रकार लगायत सरोकारवालाहरुलाई आग्रह गर्नुभयो ।
एसईई दिएर बसेका विद्यार्थीहरुले उच्च शिक्षा अध्ययनका लागि विषय छनौट गर्न सहज वातावरण बनाई विद्यार्थी तथा अभिभावकले आफ्नो रुची र क्षमता अनुसारको बिषय छनौट गरी नगर भित्र रहेका विद्यालयमा अध्ययन गर्न मेलाले अभिप्रेरित गर्ने विद्यालयका सहायक प्रधानाध्यापक मनोज रायमाझीले बताउनुभयो । शैक्षिक मेलामा एसईई दिएर बसेका विद्यार्थीहरुका लागि शैक्षिक परामर्श, कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई बिशेष छुट तथा विज्ञान प्रदर्शनी प्रतियोगिता हुने सहायक प्रधानाध्यापक रायमाझीले बताउनुभयो । रायमाझीले विज्ञान प्रदर्शनी प्रतियोगितामा उत्कृष्ट हुने सहभागीलाई पुरस्कृत गरिने समेत बताउनुभयो ।
मेलामा थाहा नगरभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुको प्रदर्शनी स्टल समेत रहने, विद्यार्थीको सीप परीक्षण, निःशुल्क माटो परीक्षण सिविर, प्लान्ट क्लिनिक समेत रहेको आयोजकले जनाएको छ । २०२५ सालमा स्थापना भएको थाहा नगरको अग्रणी शैक्षिक संस्था जनकल्याण माविमा हाल विज्ञान, बालीबिज्ञान(कक्षा ९–१२), व्यवस्थापन, शिक्षा, मानविकी र कृषि बिषयको तीन वर्षे स्नातक तहको अध्ययन अध्यापन भईरहेको छ ।
