गढीको नीति, कार्यक्रम र बजेट बहुमतले पारित भएको घोषणा गर्दै गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान ।

हेटौंडाः गढी गाउँपालिकाको नीति, कार्यक्रम र बजेट बहुमतले पारित भएको छ । सोमबार बसेको गाउँपालिकाको दोस्रो गाउँसभाको प्रथम अधिवेशनको दोस्रो बैठकले नीति तथा कार्यक्रम र बजेट बहुमतले पारित गरेको हो ।

बैठकमा गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानले नीति तथा कार्यक्रम र बजेट बहुमतले पारित भएको घोषणा गर्नुभएको थियो । बैठकमा गाउँपालिकाकी उपाध्यक्ष मान कुमारी पाख्रीनले गाउँपलिकाको आर्थिक वर्ष २०७९/८० को प्रस्तावित नीति, कार्यक्रम तथा बजेटको अन्तिम खाका प्रस्तुत गर्नुभएको थियो । अन्तिम खाका प्रस्तुत गर्दै उपाध्यक्ष पाख्रीनले गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि पर्यटन र पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार असार १० गते गाउँपालिकाले ४७ करोड ४४ लाख २२ लाख रुपैयाँ बजेट प्रस्तुत गरेको थियो । गाउँपालिकाको पहिलो बैठकको सुझावलाई ध्यानमा राख्दा असिमित आवश्यकता र विकासलाई प्राथमिकतामा रहेकोले बजेट अपुग हुने कारण आन्तरिक राजश्व वृद्धि गरेर बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो ।

मकवानपुर गढी गाउँपालिकाको संशोधित बजेट ४७ करोड ७७ लाख ६७ हजार रुपैयाँ हुने उहाँले सभामा जानकारी दिनुभयो । यस्तै, गाउँपालिकाले कृषि विकास क्षेत्रमा ८० लाख रुपैयाँ, पशु क्षेत्रमा ८० लाख रुपैयाँ, शिक्षामा १ करोड ९० लाख रुपैयाँ र स्वास्थ्यमा ५५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताउनुभयो । चालु आर्थिक वर्षको अनुमानित ७ करोड बजेट दायित्व सर्ने उहाँले बताउनुभयो । यस्तै, गाउँपालिकामा प्रदेश सशर्त र विशेष अुनदानमा ३ करोड रुपैयाँ, प्रदेश समपुरक योजनाबाट ३ करोड रुपैयाँ प्राप्त भएको जानकारी गराउनु भएको छ ।

यस्तै, बैठकमा आर्थिक विकास समितिका संयोजक एवम् वडा नम्बर ६ का वडा अध्यक्ष कृष्ण प्रसाद बजगाँईले गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० को अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक सम्बन्धमा सम्बोधनसहित अन्तिम प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी, स्रोत अनुमान तथा बजेट सिमा निर्धारण समितिका सदस्य एवम् २ नम्बर वडा अध्यक्ष बखान सिं पाख्रीनले गाउँपालिकाको व्ययको विवरण भएको आर्थिक वर्ष २०७९/८० को विनियोजन विधेयक प्रस्तावलाई कार्यान्वयन गर्न बनेको कानूनको सम्बन्धमा सम्बोधनसहित अन्तिम प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।