–चन्द्रकान्त चौधरी
मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकामा किसान कृषि कर्जा कार्ड लागु भएको एक वर्ष पूरा भएको छ । नेपाल बंगलादेश बैंक लिमिटेड मकवानपुरगढी शाखाले आयोजना गरेको एक समारोहका बीच २०७८ असार २५ गते पहिलो पटक मकवानपुरगढी गाउँपालिका वडा नं. ३, मक्रान्चुलीमास्थित श्री मनकामना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडमा आवद्ध २५ जना साना किसानहरुलाई किसान कृषि कर्जा कार्ड वितरण गरी कार्यक्रमको शुरुवात गरिएको थियो ।
मकवानपुरगढी गाउँपालिकाभित्र रहेका कृषकहरुले पशुपन्छीपालन, तथा तरकारी र फलफूललगायतका उत्पादनमूलक कृषि व्यवसाय÷उद्यम गर्नका निम्ति आवश्यक वित्तीय पहुँच, प्राविधिक सेवा, बजार व्यवस्थापन एवम् विभिन्न भूमिकामा समन्वय गर्न सानास्तरका कृषकलाई व्यावसायोन्मुख र व्यवस्थित गर्ने उद्देश्यले नेपाल बंगालादेश बैंक लिमिटेड, आर एण्ड डि ईनोभेटिभ सोलुसन प्रालि, मकवानपुरगढी गाउँपालिका र मकवानपुरगढी गाउँपालिका सहकारी समन्वय समितिबीच मिति २०७७ माघ २६ गतेदेखि लागु भई २०८२ माघ २६ गतेसम्म ५ वर्ष अवधिका लागि लागु हुने गरी बहुपक्षीय सम्झौता भए बमोजिम किसान कृषि कर्जा कार्ड कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ ।
मकवानपुरगढी गाउँपालिका सहकारी समन्वय समितिमा आवद्ध सहकारी संस्थाहरुले सम्बन्धित वडा कार्यालयसँगको समन्वयमा एकै प्रकारका कृषि व्यवसायमा आवद्ध ८–१० जना कृषकहरुको समूह बनाई आवश्यक कागजातसहित मकवानपुरगढी गाउँपालिका कृषि विकास शाखामा सिफारिस गर्दछ । सहकारी संस्थाले छनौट गरेका समूहमा आवद्ध कृषकहरुलाई कृषि विकास शाखाले नेपाल बंगलादेश बैंक लिमिटेडमा किसान कृषि कर्जा कार्ड उपलब्धताका लागि सिफारिस गर्दछ र बैंकले आवश्यक स्थलगत अनुगमन लगायतका प्रक्रियाहरु पूरा गरी साना किसानहरुलाई बिना धितो दूई लाखका दरले किसान कृषि कर्जा कार्ड मार्फत सहुलियत दरका कृषि कर्जा प्रवाह गरिरहेका छन् ।
किसान कृषि कर्जा कार्ड मार्फत प्रवाह भइरहेका कृषि कर्जाको व्याजदरमा बैंकको आधार दरमा २ प्रतिशतले जोडी हुने दर कायम हुन्छ र सेवाशुल्क सम्पूर्ण मिनाहा हुने व्यवस्था रहेको छ साथै कार्ड मार्फत प्रवाह हुने कर्जामा नेपाल राष्ट्र बैंकबाट प्राप्त हुने व्याज अनुदान/सहुलियत समेत नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन २०७७ बमोजिम पुरुष कृषकको हकमा ५ प्रतिशत व्याज अनुदान र महिला कृषकको हकमा ६ प्रतिशत व्याज अनुदान उपलब्ध भइरहेको छ । नेपाल बंगलादेश बैंक लिमिटेड मकवानपुरगढी शाखाका शाखा प्रबन्धक बद्रि विक्रम थापाकाअनुसार हाल यस बैंकको आधार दर ९.१० प्रतिशत रहेको छ र नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम हरेक तीन महिनामा बैंकको आधार दर घट–बढ हुने गर्दछ ।
मकवानपुरगढी गाउँपालिकाभित्र सम्झौता बमोजिम हालसम्म ७१ जना साना किसानहरुलाई नेपाल बंगलादेश बैंकबाट किसान कृषि कर्जा कार्ड मार्फत प्रतिकृषक २ लाखका दरले जम्मा १ करोड ४२ लाख रुपैयाँ ऋण प्रवाह भएको छ र चालु आ.व. ०७८/७९ मा किसान कृषि कर्जा कार्डमा सहजीकरण गर्ने सहकारी संस्थाहरुलाई १.५ (डेढ) प्रतिशतका दरले २ लाख १३ हजार रकम सहजीकरण व्याज अनुदान उपलब्ध गराइसकेको छ । जसमा मनकामना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड मकवानपुरगढी–३, मक्रान्चुलीमा आवद्ध ३३ जना कृषक, समुन्नती वनजन्य उत्पादन तथा विविधीकरण सहकारी संस्था लिमिटेड, मकवानपुरगढी–५, लिङेडाँडामा आवद्ध १० जना कृषक, बुद्ध दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड मकवानपुरगढी–५, सोलिथुम चुहारमा आवद्ध १० जना कृषक, तिलगंगा महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड मकवानपुरगढी–५ सिमलटारमा आवद्ध १० जना कृषक र जनजागृति दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड मकवानपुरगढी–७ सुकौरामा आवद्ध ८ जना कृषकहरु रहेका छन् । यसरी किसान कृषिकर्जा कार्ड पाउनेमा महिला कृषक ३७ जना र पुरुष कृषक ३४ रहेका छन् ।
कार्ड पाउने स्थानका कृषकहरुको स्थलगत अवलोकन र अवस्थाको बारेमा जानकारी लिँदा किसान कृषिकर्जा कार्ड प्रभावकारी देखिएको छ । मकवानपुरगढी गाउँपालिका–५ लिङ्गेडाँडाका कार्ड लिएका कृषक तेलीमाया घलानको पहिला एउटा गाई थियो । कार्ड मार्फत कर्जा लिएर २ वटा गाई खरिद गरि अहिले ३ वटा गाई छन् । एउटा गाई हुँदा दैनिक ८ लिटर दुध बिक्री गर्दै आइरहेकोमा अहिले दैनिक १८ लिटर दुध बेचिरहेको घलानको भनाइ छ । यसले निकै फाइदा पुगेको उहाँ बताउनुभयो । त्यस्तै अर्का कृषक प्रेममाया स्याङ्तानले दुईवटा गाई पहिला रहेको र बाख्रापालन गर्ने ईच्छा हुँदाहुँदै पुँजीको अभावले नसकेको सुनाउनु हुन्छ । किसानकर्जा कार्डले दुई वटा गाई र ११ वटा बाख्रा खरिद गरी बाख्रा पाल्ने ईच्छा पूरा भएको र गाईपालनको व्यवसाय पनि विस्तार भएको स्याङ्तान बताउनुहुन्छ । व्यवसाय विस्तारमा सहयोग पुगेको उहाँले बताउनुभयो ।
यसैगरी मकवानपुरगढी गाउँपालिका–५ स्थित श्री बुद्ध दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष कृष्ण बहादुर गोलेले १० जना कृषकहरुलाई किसान कृषिकर्जा कार्ड वितरण गरी यस क्षेत्रमा १५ वटा गाई थप भएको र कसै–कसैले गोठ सुधार गरेको बताउनुभयो । सहकारी संस्थामा पहिला दैनिक ५०० लिटर दुध संकलन हुने गरेकोमा हाल दैनिक ७०० लिटर दुध संकलन भैरहेको छ । यसबाट कृषकहरुको आयस्तरमा समेत वृद्धि भएको छ । मकवानपुरगढी–७ स्थित जनजागृति दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष एकाबहादुर गोलेले किसान कृषिकर्जा कार्डले सहकारीमा दुध संकलनको मात्रा बढेको बताउनु भयो । मकवानपुरगढी गाउँपालिका–५ का वडा सदस्य सुकुराम थिङले भन्नुभयो, “लिङेडाँडा क्षेत्रका १० जना कृषकले किसान कृषिकर्जा कार्ड प्राप्त गरी प्रायः सबैजनाले गाई खरिद गरेको छ । सँगै बाख्रा खरिद र टनेलमा समेत लगानी गरेको देखिन्छ । यो कर्जा कार्ड प्रभावकारी लागेको र थप कृषकहरुले माग गरिरहेका छन् ।”
यो कार्यक्रमले सानाभन्दा साना किसानहरुसम्म वित्तीय पहुँच पुग्ने भएको हुँदा सानोस्तरबाट कृषि व्यवसाय शुरुवात गर्न र व्यवसाय शुरुवात गरेका कृषकहरुलाई व्यवसाय विस्तार गर्न सहज भएको देखिन्छ । बैंकिङ प्रणालीमा साना किसानहरुको पहुँच पुग्न नसकिरहेको अवस्थामा व्याज अनुदानसहितको कृषि कर्जाको उपलब्धताले कृषकहरुलाई प्रोत्साहन मिलेको देखिन्छ । यो कर्जा नेपाल सरकारको व्याज अनुदानसहितको कृषिकर्जा अन्तर्गत पर्ने भएको हुँदा कृषिवाहेक अन्य प्रयोजनका लागि यो कार्ड कार्डको प्रयोगलाई निरुत्साहित गरिएको छ र यो कार्डबाट नगद रकम निकाल्न मिल्दैन जुन यसको सुन्दर र महत्वपूर्ण पक्ष हो ।
स्थानीय तहको दोश्रो निर्वाचन सम्पन्न पश्चात नवनिर्वाचित जनप्रतिनिधीहरुले आफ्ना जिम्मेवारी सम्हालिसकेका छन् । अधिकांश स्थानीय तहहरुले नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरिसकेका छन् । यसै सन्दर्भमा मकवानपुरगढी गाउँपालिकाले आगामी आ.व. २०७९/८० को नीति, कार्यक्रम तथा बजेटमा किसान कृषिकर्जा कार्ड कार्यक्रमलाई निरन्तरता दिइएको छ । यस कार्यक्रमले थप साना कृषकहरुलाई वित्तीय पहुँचसँग जोड्ने र कृषि व्यवसाय विस्तार गर्न कोसेढुगा सावित हुनेछ ।
कृषि अधिकृत, मकवानपुरगढी गाउँपालिका, मकवानपुर ।











