हेटौंडाः राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सहभागी हुन हेटौंडा आएका कैलाश गाउँपालिका–९, नामटारस्थित कालिका माविका विद्यार्थीमाथि यौन दूव्र्यवहार भएको घटनामा वडा अध्यक्ष भुवन घलान संलग्न भएको भन्ने आरोपप्रति नेपाली कांग्रेस कैलाश गाउँ समितिले ध्यानाकर्षण भएको जनाएको छ ।

शनिबार हेटौंडामा पत्रकार सम्मेलन गरेर कांग्रेसले ध्यानाकर्षण भएको जनाएको हो । असार १८ गते विद्यालयका शिक्षककै अनुरोधमा विद्यार्थीहरु रहेको हेटौंडा–१० स्थित असन गेष्ट हाउसमा पुगेको र शिक्षककै आग्रहमा वडा अध्यक्ष पनि होटलमै बसेको कांग्रेसले उल्लेख गरेको छ । राती साढे ९ बजेतिर विद्यार्थीहरुले हल्ला गरेको र वडा अध्यक्ष गएर हल्ला नगर्न मात्रै भनेको बुझिएको काँग्रेस कैलाश गाउँ समितिका सभापति राजेन्द्र घिसिङले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिस्पर्धी राजनीतिक दल र राजनीतिक दल प्रेरित अधिकारकर्मीले एकलौटी आरोप लगाएको पनि काँग्रेसको दावी छ । सत्यतथ्य बुझेर पीडितलाई कानुनी उपचार दिलाउन पनि काँग्रेसले माग गरेको छ । यता प्रहरीले भने उजुरीमा कसलाई आरोप लगाएको छ भनी खुलाउन चाहेको थिएन ।