हेटौंडाः राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सहभागी हुन हेटौंडा आएकी छात्राले आफू बलात्कार पीडित भएको भन्दै प्रहरीमा शुक्रबार उजुरी दर्ता गराएको छ । पीडितले दर्ता गरेको उजरीमा कसलाई किटानी गरेको छ भन्ने विषयमा प्रहरीले स्पष्ट खुलाएको छैन ।
राष्ट्रपति रनिङशिल्ड विद्यालय खेलकुदको जिल्लास्तरीय प्रतियोगितामा सहभागी हुन हेटौंडा आएको बेला मकवानपुरको कैलाश गाउँपालिका–९, नामटारस्थित कालिका माविकी एक छात्रामाथि बलात्कारको घटना भएको थियो । बलात्कार गर्ने जनप्रतिनिधि भएको बुझिएको छ । जनप्रतिनिधि भएका कारण दवावमा प्रहरीले आरोपितको नाम सार्वजनिक गर्न नचाहेको देखिन्छ ।
