Home खेलकुद जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड सुरु

जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड सुरु

हेटौंडाः मकवानपुरमा जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शनिबारबाट सुरु भएको छ । प्रदेश स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनौटका लागि हेटौंडा–४ स्थित हुप्राचौरमा प्रतियोगिता सुरु भएको हो ।

प्रतियोेगिता अन्र्तगत शनिबार भएको छात्रातर्फको भलिबल प्रतियोगितामा थाहा नगरपालिकाको जनकल्याण माध्यामिक विद्यालय प्रथम भएको छ । फाइनल खेलमा मकवानपुरगढी गाउँपालिकाको भानु माध्यामिक विद्यालयलाई सोझो २–० सेटले हराउँदै जनकल्याण प्रथम भएको हो । प्रथम भएसँगै जनकल्याण प्रदेश स्तरीय राष्ट्रपति रनिङशिल्ड खेल्नका लागि छनौट भएको छ । यस्तै लङ जम्प छात्रतर्फ बुद्ध मावि बकैया गाउँपालिकाका आयुष नेगी प्रथम र माउन्ट एभरेष्ट हेटौंडाको सुविन लामा द्वितीय भए । यस्तै छात्रातर्फ पनि बुद्ध मावि बकैयाकी करुणा पाख्रिन प्रथम र नातेश्वर मावि थाहा नगरपालिकाकी सुजना बिक द्वितीय भइन् ।

यस्तै हाई जम्प छात्रतर्फ जनकल्याण मावि थाहा नगरपालिकाका सरिफ मिया प्रथम र कालिका मावि कैलाश गाउँपालिकाका प्रेम सुनुवार द्वितीय भए । छात्रातर्फ हाई जम्पमा महालक्ष्मी मावि इन्द्रसरोवरकी बिमला डिमडुङ प्रथम र कालिका मावि कैलाशकी गोमा बर्तौला द्वितीय भइन् । त्रिपल जम्प छात्रतर्फ बुद्ध मावि बकैयाका सुजन राई प्रथम र जनप्रिय मावि हेटौंडाका जिकेश सापकोटा द्वितीय भए । छात्रातर्फ भने झम्केश्वरी मावि थाहाकी बिनिता बलामी प्रथम र जनकल्याण मावि थाहाकी समिक्षा विष्ट द्वितीय भइन् ।

यस्तै सटफुटमा छात्रतर्फ सुन्दरीदेवी मावि थाहाका गोविन्द वाड प्रथम र बुद्ध मावि बकैयाका अञ्जित भोलन द्वितीय भए । छात्रातर्फ सटफुटमा झम्केश्वरी मावि थाहाकी रुपा बलामी प्रथम र बुद्ध मावि बकैयाकी मनिषा डिमडुङ द्वितीय भइन् । ज्याबलिङ थ्रोमा छात्रतर्फ बुद्ध मावि बकैयाका सुमन योञ्जन प्रथम र बुद्ध माविकै पाण्डब राई द्वितीय भए । छात्रा तर्फ ज्याबलिङ थ्रोमा पनि बुद्ध माविकी कौशिला भोलन प्रथम र शारदा मावि गढीकी रोजिना स्याङ्तान द्वितीय भइन् ।

दौडतर्फ ४ सय मिटरको रिलेमा छात्रतर्फ बकैयाका बुद्ध मावि र भुटनदेवी मावि हेटौंडा द्वितीय भएको छ । छात्रातर्फ ४ सय मिटरको रिलेमा चन्द्रोदय मावि हेटौंडा प्रथम र सिद्धार्थ मावि हेटौंडा द्वितीय भएको छ । १६ सय मिटर रिले दौडमा छात्रतर्फ बकैयाका बुद्ध मावि प्रथम र जनप्रिय मावि हेटौंडा द्वितीय भएको छ । छात्रातर्फ १६ सय मिटर रिले दौडमा मकवानपुगढीका शारदा मावि प्रथम र महेन्द्र मावि हेटौंडा द्वितीय भएको छ ।

यस्तै ४ सय मिटर दौडमा छात्रतर्फ बुद्ध मावि बकैयाका आयुष नेगी प्रथम र जनप्रिय मावि हेटौंडाका सुजन माझि द्वितीय भए । छात्रातर्फ ४ सय मिटर दौडमा जनकल्याण मावि थाहाकी सन्ध्या गोले प्रथम र नाट्टेश्वर मावि राक्सिराङकी सुजना बिक द्वितीय भइन् । यस्तै ८ सय मिटर दौडमा छात्रतर्फ बुद्ध माविका आयुष नेगी र झम्केश्वरी मावि थाहाका मेघराज बलामी द्वितीय भए । छात्रातर्फ ८ सय मिटर दौडमा नाट्टेश्वर मावि थाहाकी सुजना बिक प्रथम र जनकल्याण माविकी सन्ध्या गोले द्वितीय भइन् । २ सय मिटर दौड छात्रतर्फ जनप्रिया मावि हेटौंडाका जिकेश सापकोटा प्रथम र थाहाका राज बलामी द्वितीय भए ।

छात्रतर्फको भलिबल र दौडतर्फका बाँकी खेलहरु आईतबार बिहान हुने प्रतियोगिताका एथलेटिक्स संयोजक राजाराम पोखरेलले जानकारी दिनुभयो । छात्रतर्फ भलिबलको फाइनलमा सुन्दरी मावि थाहा र अरनिको मावि हेटौंडा भिड्नेछ । प्रतियोगितामा जिल्लाका सात स्थानीय तहले मात्र सहभागिता जनाएका छन् । पालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सञ्चालन गरेका हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, बकैया गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, कैलाश गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका र राक्सिराङ गाउँपालिकाले सहभागिता जनाएका हुन् । प्रतियोगितामा ४८ स्वर्णका लागि खेलाडीहरुले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिता अन्र्तगत आईतबार सबै विधाका खेलहरु सम्पन्न हुनेछ । जिल्ला स्तरीय प्रतियोगितामा छनौट हुने खेलाडीहरुले प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड खेल्न पाउनेछन् ।

Exit mobile version