Home मुख्य समाचार आज राष्ट्रिय धान दिवस विविध कार्यक्रम गरी मनाइँदै

आज राष्ट्रिय धान दिवस विविध कार्यक्रम गरी मनाइँदै

हेटौंडाः प्रत्येक वर्ष असार १५ गते राष्ट्रिय धान दिवस मनाउने गरिएको छ । आज बुधबार विविध कार्यक्रम गरेर देशैभर १९औं राष्ट्रिय धान दिवस मनाइँदैछ ।

वर्षायाममा नेपालका अधिकांश खेतीयोग्य जमिनमा धान रोपाईं गरिन्छ । वर्षाको सुरुवातसँगै धान रोपाईं गरेर प्रत्येक वर्ष असार १५ गते दही चिउरा खाने पर्वको रुपमा समेत मनाइँदै आएको छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाएर असार १५ मनाउँछन् ।
“मुठी रोपेर मुरी उब्जाउने” महिनाको मध्य अर्थात् असार १५ गतेका दिन रोपाईं यात्रा गरेर धान दिवस मनाउने गरिन्छ । सरकारले विसं २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालेको हो ।

मकवानपुरमा पनि आज विभिन्न स्थानहरुमा रोपाईको विशेष कार्यक्रम आयोजना गरी धान दिवस मनाइँदैछ । राष्ट्रिय धान दिवसको अवसरमा विभिन्न स्थानका खेतमा सामूहिक रोपाईं महोत्सवसमेत हुने गरेको छ । बागमती प्रदेश सरकारका कृषि मन्त्री बसुन्धरा हुमागाईंको उपस्थितिमा आज बुधबार बिहान मकवानपुरगढी गाउँपालिका–५, सिमलटारमा धान दिवस मनाइँदैछ ।

यस्तै, हटियास्थित साना किसान कृषि सहकारी संस्था, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र हेटौंडा उपमहानगरपालिकाको संयुक्त आयोजनामा राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव हुने भएको छ । हेटौंडा–१७, गुरौखोलामा विहान ११ बजे हुने कार्यक्रममा पनि बागमती प्रदेशका कृषि मन्त्री बसुन्धरा हुमागाईंको प्रमुख आतिथ्यता रहने जनाइएको छ । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर तथा उपमेयरको समेत आतिथ्यता रहने बताइएको छ ।

कृषि प्रधान देश भनिने नेपालका अधिकांश मानिसको मुख्य बाली धान हो । यसकारण पनि धान दिवस नेपालीका लागि विशेष हुने गरेको छ । धान दिवस तथा अन्य दिन गरिने रोपाईंको समयमा असारे भाकाका गीत गाउन्दै छुपुछुपु हिलोमा धान रोपिन्छ । मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । पछिल्लो समय सामाजिक सञ्जालको प्रभावका कारण युवायुवती पनि रोपाईं भएको ठाउँमा गएर हिलोमा रमाउने तथा फोटो भिडियो खिच्ने क्रम बढ्दै गएको छ ।

Exit mobile version