प्रत्येक क्षण मानिसले विपद्को सामना गर्नुपर्ने हुन्छ । होशियारी वा पूर्वतयारी नगर्ने हो भने जुनसुकै अवस्थामा पनि मानिस अप्ठेरोमा पर्ने खतरा छ । विशेषगरी वर्षाद् लागेपछि आउने विपद् नेपाली समाजका लागि चुनौती बन्ने गरेको छ । प्रत्येक वर्ष भलबाढीले ठूलो मात्रामा जनधनको क्षति पुग्दै आएको छ । यस वर्ष पनि नेपालमा मनसुन सुरु भएको छ । देशका विभिन्न स्थानमा लगातार पानी/झरी पर्न थालेको छ । केही क्षेत्र डुबानमा परेका छन् भने पहिरोका कारण सडकमार्ग अवरुद्ध भएका छन् । नेपालको भौगोलिक अवस्थितिका कारण वर्षाद्मा जाने पहिरो, भलबाढी र डुबानले मानवीय क्षति हुँदै आएको छ । विपद्लाई रोक्न नसके पनि क्षति न्यूनीकरण गर्नेतर्फ राज्यको योजना आवश्यक छ ।
बाढी, पहिरो तथा भूकम्पजस्ता प्राकृतिक प्रकोपहरुबाट नेपाल उच्च जोखिममा छ । जलवायु परिवर्तनको वेग तिब्र बन्दै गएपछि नेपाल अझै बढी जोखिम क्षेत्रमा परेको छ । तापक्रम बढ्दै जानु र वर्षा अनियमित हुँदा भलबाढीको अवस्था बढ्दै गएको देखिन्छ । विपद् आउनुमा प्रकृतिमात्र दोषी हुँदैन । मानवीय व्यवहारका कारण पनि प्राकृतिक विपद् बढ्दै गएको तथ्य बिर्सन हुँदैन । जबसम्म मानिसले आफ्नो व्यवहार सुधार गर्ने र प्रकृतिलाई स्वभाविक गतिमा नछोड्ने हो भने मानव जीवन नै खतरामा पर्नेछ । जोखिम बढ्दैछ भन्ने जानकारी सबैलाई छ । तर पूूर्वप्रतिकार्य देखिँदैन । जब क्षति हुन थाल्छ, तब हतारमा तयारी गर्दा ठूलो मात्रामा नोक्सानी सहनुपर्ने बाध्यता छ ।
आइपर्ने जोखिम न्यूनीकरण गर्ने दायित्व राज्यको हो । स्थानीय तह बढी जिम्मेवार हुनु पर्दछ । जनताको दैनिकीसँग साक्षात्कार बनेको स्थानीय तहले आफ्ना नागरिकलाई विपद्बाट जोगाउन कस्ता योजना बनाएका छन् भन्ने पक्ष महत्वपूर्ण हुन्छ । वार्षिक नीति तथा कार्यक्रम र बजेट बनाउँदै गरेका स्थानीय तहहरुले विपद् जोखिम न्यूनीकरणका लागि योजना बनाएका हुनु पर्दछ । यदि छैन भने संशोधन गरेर भए पनि जोखिम न्यूनीकरण, क्षति कम, उद्दार र राहतका लागि बजेट विनियोजन हुनै पर्दछ । विपद् कुन बेला कस्तो अवस्थामा आउँछ भन्ने पूर्वजानकारी हुँदैन । तर तयारी गर्नु राज्यको दायित्व हो । भलबाढी गाउँ पसेपछि उद्दार गर्ने भन्दा पहिला नै बस्ती स्थानान्तरणको योजना आवश्यक छ ।
स्थानीय भौगोलिक अवस्था र आफ्नो श्रोत साधनबारे पूर्वअनुमान गर्ने काम स्थानीय तहले गर्नु पर्दछ । विपद्मा छिटो जनतासँग पुग्ने स्थानीय तहका प्रतिनिधि नै हुन् । विपद्मा परेका नागरिकलाई सहयोग गर्ने, उद्दार र राहतको व्यवस्थापनको पहिलो जिम्मेवारी स्थानीय तहकै हो । संघ वा प्रदेशबाट सहयोगको अपेक्षा गर्नेभन्दा आफूले गर्ने सबै तयारी गरिएको हुनु पर्दछ । तर सबै स्थानीय तहले पूर्वतयारी गरेका छैनन् । आफ्नो पालिकाभित्रको जोखिम क्षेत्र र बस्तीको अध्ययन गर्ने र सावधानी अपनाउने कामको सुरुवात आजैबाट हुनु पर्दछ । भलबाढी आउन थालेपछि तयारी थाल्दा ढिलो हुनेछ । विगत वर्षहरुले दिएको शिक्षालाई ग्रहण गर्दै पूर्वतयारी गर्न ढिला गर्नु हुँदैन ।











