हेटौंडाः आज (आइतबार) दिउँसो १ बजेका लागि हेटौंडा उपमहानगरपालिकाको सभा आव्हान गरिएको छ । नगर सभाका बहुमत सदस्यले उपस्थिति नजनाएका कारण शुक्रबारका लागि आव्हान गरिएको नगर सभा स्थगित भएर आजका लागि आव्हान गरिएको थियो । असन्तुष्ट बनेका सदस्यको समूहसँग हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँसँगै राजनीतिक दलका नेताबीच आइतबार बिहान छलफल भएसँगै बैठकमा सहभागी हुने सम्भावना बढेको असन्तुष्ट समूहका एक सदस्यले बताएका छन् ।
नेकपा एमालेबाट उम्मेदवार भएर नगर सभा सदस्यमा निर्वाचितहरुको समूहले स्थानीय सरकार सञ्चालनसम्बन्धी कार्यविधि र नियमावलीमा संशोधन प्रस्ताव दर्ता गर्नुपर्ने, आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम र बजेट विषयगत समितिमार्फत निर्माण गरिनुपर्ने माग राखेका छन् । आफ्नो समूहको तर्फबाट संशोधन प्रस्ताव दर्ता हुने र विधिसम्मत नीति, कार्यक्रम र बजेट तयार गर्न नगर प्रमुखलाई सहमत गराउने प्रतिवद्धता उपप्रमुख राजेश बानियाँबाट व्यक्त भएसँगै नगर सभा बैठक सञ्चालन हुने सम्भावना बढेको असन्तुष्ट समूहका एक सदस्यले बताएका छन् ।
नगर सभा सदस्य एवम् उपमहानगरका प्रवक्ता समेत रहनुभएका सविन न्यौपानेले संशोधन प्रस्तावको विषयमा नगर सभापछि छलफल गर्ने र नगर सभामा प्रस्तुत हुने बजेटमा आवश्यक छलफलपछि संशोधन गरी पारित गर्ने विषयमा सहमति नजिक पुगेकोले नगर सभा सञ्चालन हुने सम्भावना रहेको जानकारी दिनुभयो ।
छलफलमा नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, नेकपा एकीकृत समाजवादी हेटौंडा उपमहानगर कमिटीका अध्यक्ष ध्रुव भुजेल, वडा अध्यक्षहरु अनिल बानियाँ, फुर्वा दोर्जे लामा, सुनिल मोक्तान, सविन न्यौपानेको सहभागिता रहेको थियो ।











