Home मुख्य समाचार शिक्षामा अनियमितता नहोस्

शिक्षामा अनियमितता नहोस्

शिक्षा सबै मानिसका लागि महत्वपूर्ण हुन्छ । शिक्षाबिना कुनै पनि क्षेत्रमा सफलताको कल्पना गर्न सकिँदैन । हरेक नागरिक आफ्ना छोराछोरीलाई शिक्षित बनाउन अग्रसर भइरहेका छन् । शिक्षा क्षेत्रमा वार्षिक खर्बौं रुपैयाँ सरकारी तथा निजी लगानी लागेको छ । शिक्षाका लागि विद्यार्थी र अभिभावकको लगानी पनि उत्तिकै छ । शिक्षा क्षेत्रमा संघीय सरकारले मात्रै वार्षिक झण्डै २ खर्ब रुपैयाँ खर्चिरहेको छ । प्रदेश तथा स्थानीय सरकारले पनि शिक्षा क्षेत्रमा उल्लेख्य लगानी गरिरहेका छन् । शिक्षण सिकाईलाई प्रभावकारी बनाउँदै शिक्षक एवम् विद्यार्थीको ज्ञान भण्डार वृद्धि गर्न र पठन संस्कृतिको विकास गराउन प्रत्येक विद्यालयमा पुस्तकालय स्थापनाको प्रयास भइरहेको छ । विभिन्न तहका सरकारले विद्यालयहरुमा पुस्तकालय स्थापना र व्यवस्थापनका लागि विभिन्न प्रकारका अनुदानसमेत उपलब्ध गराउँदै आएको छ ।

मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिकाका माध्यमिक विद्यालयहरुलाई पनि पुस्तकालय व्यवस्थापनका लागि संघीय सरकारले सहयोग गर्दै आएको छ । चालु आर्थिक वर्षका लागि पनि हेटौंडा उपमहानगर क्षेत्रका ४ वटा विद्यालयमा पुस्तकालय स्थापनाका लागि संघीय सरकारले प्रतिविद्यालय ६ लाख ५० हजार सशर्त अनुदान प्रदान गरेको छ । हेटौंडा–१३, पदमपोखरीस्थित महेन्द्र मावि, हेटौंडा–१८, हर्नामाडीस्थित ज्योति मावि र गोरक्षनाथ मावि तथा हेटौंडा–१९, नेवारपानीस्थित अरनिको माविमा पुस्तकालय स्थापनाका लागि संघीय सरकारले सशर्त अनुदान दिएको छ । हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखामा विद्यालयहरुले बुझाएको प्रस्तावका आधारमा संघीय सरकारको अनुदान पाउँदै आएको छ ।

माध्यमिक तहका विद्यालयलाई प्रदान गरिने पुस्तकालय स्थापनाको बजेट हेटौंडा उपमहानगरका अधिकांश विद्यालयलाई प्रदान गरिसकेको शिक्षा विकास महाशाखाको दावी छ । हेटौंडा उपमहानगरका २९ वटा सामुदायिक माध्यमिक विद्यालयमा पुस्तकालय स्थापनाका लागि संघीय सरकारमार्फत् बजेट वितरण भइसकेको महाशाखाले दावी गरेको छ । संघीय सरकारबाट प्राप्त सशर्त अनुदान उपमहानगरपालिकाले उपलब्ध गराउँदै आएको बताइएको छ । सोही बजेटबाट विद्यालयले आवश्यक प्रक्रिया पूरा गरेर पुस्तकालय स्थापना गर्नुपर्छ । सशर्त अनुदान भनेको जुन शीर्षकको बजेट हो, त्यही शीर्षकमा खर्च गर्नुपर्छ । तर, पुस्तकालय स्थापनाका लागि अनुदान पाएका विद्यालयहरुले पुस्तक खरिद र पुस्तकालयका लागि आवश्यक फर्निचर खरिद प्रक्रियामा अनियमितता गर्ने गरेको गुनासो आउने गरेको छ ।

पुस्तकालय स्थापनाका लागि बजेट पाएका विद्यालयले पुस्तक खरिदमा मिलेमतो गरेको गुनासो छ । पुस्तक खरिदको प्रक्रियामा सार्वजनिक सूचना आह्वान नगरी सीमित बिक्रेता तथा प्रकाशकबाट पुस्तक खरिद गर्ने गरेको पाइएको छ । फर्निचर खरिदमा पनि उस्तै प्रवृत्ति छ । विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समिति र केही सीमित शिक्षकको प्रयासमा आकर्षक र उपयोगी पुस्तकालय बनाउने भन्दा पनि बजेट हिनामिना गर्ने काममात्र भइरहेको अभिभावकले गुनासो गरेका हुन् । पुस्तकालय भनेको ज्ञानको केन्द्र हो । विद्यालयमा विद्यार्थीका लागि उपयोगी पुस्तकसहितको पुस्तकालय हुनुपर्छ र त्यसलाई विद्यार्थीले सहजै प्रयोग गर्न पाउनुपर्छ । पुस्तकालयकै बजेटमा समेत अनियमितता गर्ने विद्यालयले अन्य शीर्षकका बजेटको पनि सदुपयोग नगर्न सक्छन् । त्यसैले बजेट प्रदान गर्ने सम्बद्ध निकायले बजेट खर्चको प्रक्रिया र कामको गुणस्तरबारे प्रभावकारी अनुगमन गर्नुपर्छ । अनियमितता गर्नेलाई नियमानुसार कारबाही गर्न सक्नुपर्छ ।

Exit mobile version