Home अर्थ/व्यापार किसानलाई वित्तीय शिक्षा तथा व्यावसायिक कक्षा

किसानलाई वित्तीय शिक्षा तथा व्यावसायिक कक्षा

हेटौंडाः कृषि विकास बैंकले मकवानपुरको हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिकाका किसानका लागि वित्तीय शिक्षा तथा व्यावसायिक कक्षा सञ्चालन गरेको छ । कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आईएफएडी) तथा अर्थ मन्त्रालयको साझेदारीमा वित्तीय शिक्षा तथा व्यावसायिक कक्षा सञ्चालन गरिएको हो ।

व्यावहारिक ज्ञान, सीप र व्यावसायिक किसान बनाउने उद्देश्यले कक्षाको सञ्चालन गरिएको कृषि विकास बैंकको हेटौंडा–४, कान्तिराजपथस्थित शाखाका आपूर्ति श्रृंखला सहजकर्ता ईश्वर राज पन्तले जानकारी दिनुभयो । तरकारी क्लस्टर भुन्द्रुङका २५ जना युवा किसान महिलाहरु र बाख्रा क्लस्टर पान्तलेमा बाख्रा किसानलाई २२ दिने कक्षा सञ्चालन गरेको छ । कक्षापछि किसानहरुले बैंकसँग कर्जा लिन, बचत गर्ने तरिका सिक्ने र गुणस्तरीय कृषि उत्पादनलाई बढाउने अपेक्षा गरिएको छ । यस्तै किसान एपका माध्यमबाट व्यापार बढाउने र आफ्ना सबै समस्या अनलाइनमार्फत घरबाटै समाधान गर्न सकिने सहजकर्ता पन्तले बताउनुभयो ।

स्मार्ट किसान हुने र बैंकिङ कारोबार पनि आफ्नो गाँउबाट नै किसान क्रेडिट कार्डद्वारा गर्न सकिने बताइएको छ । नेपालमा पहिलो पटक किसान कार्ड, किसान एपसहितको वित्तीय शिक्षा तथा व्यावसायिक साक्षरता तालिम गरिएको पन्तको भनाई छ । यो तालिम पहिलो पटक मकवानपुरमा सुरु भएको छ । यो तालिम हेटौंडा र मनहरीसँगै मकवानपुरगढी गाउँपालिका गरी २१ वटा समुहमा ५ सय २५ जनालाई दिइने उहाँले बताउनुुभएको छ ।

Exit mobile version