Home मुख्य समाचार हेटौंडा उपमहानगरको कार्यपालिकाको पहिलो बैठक बस्यो, नगर प्रमुखको पहिलो निर्णय नै पेश...

हेटौंडा उपमहानगरको कार्यपालिकाको पहिलो बैठक बस्यो, नगर प्रमुखको पहिलो निर्णय नै पेश भएन

हेटौंडाः हेटौंडा उपमहानगरको कार्यपालिकाको पहिलो बैठक आइतबार बिहान बसेको छ । गत बिहीबार बिहानका लागि बोलाइएको बैठकमा विवाद भएपछि स्थगित भएको बैठक आइतबार बिहान बसेको हो । आइतबार बिहानको पहिलो बैठकमा नगर प्रमुखको पहिलो निर्णय पेश हुन सकेन ।

नगर प्रमुख मीना कुमारी लामाले आफ्नो पहिलो निर्णयलाई आगामी आर्थिक बर्षको बजेटमा लागु हुने गरी नीति तथा कार्यक्रममै समेटेर लैजाने योजनाअनुसार कार्यपालिकाको बैठकमा प्रस्तुत नगरिएको बताउनुभयो । यस्तै प्रदेश सरकारको पूर्वाधार निर्माणका लागि हेटौंडा उपमहानगरपालिकाको ६ र १६ नम्बर वडामा जग्गा उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रदेश सरकारले पूर्वाधार निर्माणका लागि जग्गा उपलब्ध गराइदिन माग गरेर पठाएको पत्रका आधारमा ६ र १६ नम्बर वडामा रहेको जग्गा उपलब्ध गराउने निर्णय गरिएको कार्यपालिका सदस्य सुनिल मोक्तानले जानकारी दिनुभएको छ । पहिलो बैठकले विषयगत समिति गठन गर्ने निर्णय गरेको छ । समितिका पदाधिकारी भने सहमतिमा चयन गर्ने निर्णय भएको मोक्तानले बताउनुभयो ।

उपमहानगरपालिकामा नगर प्रमुखको संयोजकत्वमा स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति, उपप्रमुखको संयोजकत्वमा राजश्व परामर्श समिति, बजेट तथा कार्यक्रम तर्जुमा समिति, योजना अनुगमन तथा फरफारक समिति रहन्छ । पूर्वाधार विकास समिति, आर्थिक विकास समिति, वातावरण तथा विपद् व्यवस्थापन समिति र वित्त व्यवस्थापन तथा सुशासन समितिमा वडा अध्यक्षहरुमध्येबाट संयोजक चयन गर्ने सहमति भएको बताइएको छ । बैठकले राष्ट्रिय भूमि आयोगअन्तर्गत कार्य गर्न भूमि सेवा इकाईमा करार सेवामा कार्यरत कर्मचारीको म्याद थप गर्ने निर्णय गरेको छ ।

Exit mobile version