रिवन काटेर र्यालीको उद्घाटन गर्नुहुँदै बागमती प्रदेश सभा सदस्य मुनु सिग्देल । साथमा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामा र उपप्रमुख राजेश बानियाँ ।

हेटौंडाः ५० औं विश्व वातावरण दिवसको अवसरमा आइतबार बिहान हेटौंडामा र्याली तथा सभाको आयोजना गरिएको छ । टोल विकास संस्था नगर समन्वय समितिको आयोजनामा विभिन्न टोलविकास संस्थाका पदाधिकारी, विद्यालयका विद्यार्थी, नगरवासीको संलग्नतामा र्यालीको आयोजना गरिएको हो ।

नगर परिक्रमा गर्दै र्याली ।

हुप्रचौरमा र्याली सुरु भएको थियो । बागमती प्रदेश सभा सदस्य मुनु सिग्देलले रिवन काटेर र्यालीको उद्घाटन गर्नु भएको थियो । नगर परिक्रमा गरेर रोयल प्यालेसमा पुगेपछि र्याली सभामा परिणत भएको थियो । र्यालीमा उत्कृष्ट सहभागिता जनाउने आठ वटा समुहलाई नगदसहित पुरस्कृत गरिएको छ ।

सचेतनामूलक प्लेकार्डसहित र्यालीमा प्रयोग भएको अटो ।

र्यालीमा टोल विकास संस्थातर्फ हेटौंडा–५ स्थित अब्बलडाँडा टोल विकास संस्था प्रथम भयो । प्रथम हुने टोल विकास संस्थालाई नगद १५ हजारसहित सम्मानपत्र प्रादान गरिएको छ । हेटौंडा–८ स्थित विकास टोल विकास संस्थाले द्वितीय हुँदै १० हजारसहित सम्मानपत्र पाएको छ । हेटौंडा–४ को सूर्यभैरव टोल विकास संस्था तृतीय हुँदै ५ हजारसहित सम्मानित भएको छ । यस्तै हेटौंडा–४ स्थित चिसापानी टोलविकास संस्था र हेटौंडा–११ स्थित झोलुङ्गे पुल टोल विकास संस्थालाई सान्त्वना पुरस्कार तीन–तीन हजार नगद र सम्मानपत्र प्रदान गरिएको छ ।

यस्तै विद्यालयतर्फ हेटौंडा–१ को अमर मावि प्रथम हुँदै पुरस्कारस्वरुप नगद ७ हजार प्राप्त गर्न सफल भएको छ । द्वितीय पुरस्कार भुटनदेवी माविको स्काउट टोलीले जितेको छ । स्काउट समूहले नगद ५ हजार प्राप्त गरेको छ । हेटौंडा–७ को नवजोति माविलाई तृतीय पुरस्कारस्वरुप ३ हजार नगद प्रदान गरिएको टोल विकास संस्था नगर समन्वय समिति सचिव शिवहरी दाहालले बताउनु भयो । टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव अधिकारीको सभाअध्यक्षता र बागमती प्रदेशका वन तथा वातावरण मन्त्री विशाल खड्काको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।