हेटौंडाः थाहा नगरका युवाले थाहा नगरपालिकाका प्रमुख तथा उपप्रमुख समक्ष ध्यानाकर्षणपत्रसहित विकासको साँचो बुझाएका छन् । नगरप्रमुख बिष्णु बहादुर बिष्टको कार्यकक्षमा पुगेर युवाको एक समूहले शुक्रबार ध्यानाकर्षण पत्र र विकासको साँचो बुझाएका हुन् ।
ध्यानाकर्षण पत्रमा थाहा नगरपालिकाको समग्र क्षेत्रको विकासका लागि स्थानीय जनप्रतिनिधिहरुलाई आग्रह गरिएको छ । ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘बागमती प्रदेशको राजधानी हेटौंडा र संघीय राजधानी काठमाडौंबाट समदूरीमा रहेको थाहा नगरपालिका कृषि, धार्मिक, पर्यटन क्षेत्रको सम्भावना प्रचुरमात्रामा रहेको तथा तत्कालिन आग्रा, दामन, पालुङ, टिस्टुङ, बज्रबाराही, चित्लाङ गाबिस मिलेर बनेको नगरपालिका बत्तिमुनिको अँध्यारो भएको भएको छ ।’
ध्यानाकर्षण पत्रमा थाहा नगरको मूल नारा ‘कृषि, पर्यटन र पुर्वाधार, थाहा नगरको विकासको आधार’ नारामा मात्र सीमित भई कृषिमा रासायनिक मलको अभाव, पर्यटनमा पहाडको रानी भनेर चिनिने दामन सिमभन्ज्याङ क्षेत्र अस्तब्यस्त, कृषि बजारको अभाव, बीउ, सिँचाइको पर्याप्त मात्रामा व्यवस्था नहुनु र थाहाको समृद्धिको नारा चुनावी नारामा मात्र सीमित नहोस भन्दै ध्यानाकर्षण गराएको छ । आगामी ५ बर्षमा थाहाका जनताले महसुस गर्ने गरी दीर्घकालिन फाइदा तथा रोजगारीको अवसर सृजना गरी औद्योगिकरण गर्दै सडक व्यबस्थित गर्दै उत्कृष्ट नगर बनाउन भनिएको छ ।
ध्यानाकर्षणपत्रसहित विकासको साँचो ग्रहणपछि थाहा नगरपालिकाका प्रमुख विष्णुबहादुर विष्टले थाहा नगरको समग्र विकासका लागि सबै पक्षसँग सहकार्य गरेर अगाडि बढ्ने बताउनु भयो । नगर प्रमुख बिष्टले थाहा नगरको समृद्धिका लागि प्राप्त सकारात्मक सुझावहरुको कार्यान्वयनका लागि आफु प्रतिबद्ध रहेको समेत बताउनुभयो । नगरप्रमुख बिष्टले युवाका सकारात्मक सुझावले आफुमा काम गर्न उर्जा मिल्ने बताउँदै आगामी ५ बर्ष देखिने काम गर्ने बताउनुभयो । बिष्टले युवाहरुको मागमा नगरपालिका प्रतिबद्ध रहेको बताउँदै युवाहरुले उठाएका योजनाका बिषय कार्यपालिका बैठकमा समेत छलफल गरिने बताउनुभयो ।
नगर उपप्रमुख भरत गोपालीको पनि उपस्थितिमा स्थानीय युवा बिक्रम केसी, राजन प्रसाद ढकाल, उद्धव बिडारी, अनिल लामा, युगल ढकाल, बद्री ढकाल लगायतको समूहले ध्यानाकर्षणपत्रसहित विकासको साँचो नगरप्रमुख विष्टलाई बुझाएका हुन् ।
