
हेटौंडाः हेटौंडा उपमहानगरपालिकाका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको बैठक तथा नवनिर्वाचित नगर प्रमुख मीना कुमारी लामा र उपप्रमुख राजेश बानियाँसँग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम भएको छ । हेटौंडा–२ स्थित सिद्धार्थ माविको सभाहलमा सोमबार भएको कार्यक्रम हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाले आयोजना गरेको हो ।
नवनिर्वाचित नगर प्रमुख र उपप्रमुखसँगको अन्तरक्रिया प्रधानाध्यापकहरुले विद्यालयमा आउने दिवा खाजाको बजेट वृद्धि हुनुपर्ने माग गरेका छन् । हेटौंडा–२ स्थित सिद्धार्थ माविका प्रधानाध्यापक मोहनप्रसाद शार्माले दिवा खाजाको खर्च पुर्याउन गाह्रो भएको र पसलबाट सामान उधारो ल्याउनु परेको बताउनुभएको छ । स्थानीय सरकारले बजेट थप गरिदिए दिवा खाजा खुवाउन सहज हुने प्रधानाध्यापकको भनाइ छ । बैठकमा सहभागी प्रधानाध्यपकले शैक्षिक क्यालेण्डर निर्माणमा ढिलाई भएको बताउनुभयो । आइतबारको सार्वजनिक बिदाले शैक्षिक क्यालेण्डर आउन ढिला भएको महाशाखाले जनाएको छ ।
कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख मीना कुमारी लामाले सबैसँग सल्लाह गरेर आगामी ५ बर्षमा शिक्षामा परिवर्तन गर्दै अगाडि बढ्न सबैलाई आह्वान गर्नुभएको छ । बौद्धिकताको सही प्रयोग गरेर समन्वय गर्दै अगाडि बढ्ने उहाँले बताउनुभएको छ । आफू जहाँ छ त्यहीँबाट सुधारका काम सुरु गर्न सबै प्रधानाध्यापकलाई प्रमुख लामाले सुझाव दिनुभएको छ । शिक्षामा परिवर्तन गर्न आफू नगर प्रमुख नभई एक अभिभावक बनेर काम गर्ने उहाँको भनाइ छ । प्रमुख लामाले शिक्षा महाशाखा प्रमुखलाई अभिभावकलाई सचेतना बढाउने कार्यक्रम गर्न निर्देशन दिनुभएको छ । असार १० गते हुने नगरसभामा उहाँले विद्यालयस्तरीय सुधार समिति गठन गर्ने जानकारी दिनुभयो । आफूलाई काम दिन भन्दै प्रमुख लामाले आफू सरस्वती, लक्ष्मी बनेर काम गर्ने, समन्वय गर्ने बताउनुभयो ।
हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले शिक्षा क्षेत्रमा राजनीतिकरण हटाएर खुला किताब भएर काम गर्नुपर्ने बताउनुभएको छ । विद्यार्थीको क्वान्टिटी भन्दा क्वालिटीमा ध्यान दिन उहाँले आग्रह गर्नुभएको छ । हिजोको दिनमा आफू वडामा भएको र आजको दिनमा नगरमा आइसकेपछि विद्यालयहरुको समस्यालाई छलफल गरेर राम्रो नमुना विद्यालय बनाउने बताउनुभएको छ । आफूूसँग भएको स्रोत साधनको सदुपयोग गर्न उहाँले आग्रह गर्नुभएको छ ।
हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईंले मुस्कानसहित सेवा दिन सबैलाई आग्रह गर्नुभएको छ । सही ठाउँमा सही निर्देशन दिएर प्रधानाध्यापकहरुले आफ्नो विद्यालयलाई राम्रो बनाउन सबै प्रधानाध्यापकलाई उहाँले सुझाव दिनुभयो । प्रधानाध्यापकको बैठकमा ईमिसको अपडेट, विद्यालय सुधार योजना (एसआईपी), विद्यालयको प्रगति प्रतिवेदन, कक्षा ८ को नतिजा व्यवस्थापनको बारेमा छलफल भएको थियो । नयाँ शैक्षिक सत्रमा भर्ना भएका विद्यार्थीहरुको ईमिसमा नाम अपडेट गर्ने साथै कक्षा ८ को मार्कसिट निकाल्न ईमिसमा विद्यार्थीको सबै तथ्याङ्क अपडेट गर्ने महाशाखाका अधिकारीले बताएको छ ।
विद्यालयको प्रगति प्रतिवेदन र विद्यालय सुधार योजना (एसआईपी) असार मसान्तसम्म महाशाखामा बुझाउने बैठकमा निर्णय भएको छ । बेरुजु बुझाउन बाँकी रहेका विद्यालयले छिटै बेरुजु बुझाउन पनि अनुरोध गरिएको छ । शैक्षिक सत्र २०७९ को कक्षा ८ को बार्षिक परीक्षामा परीक्षा केन्द्र परिवर्तन गर्ने वा परीक्षाको उत्तरपुस्तिका अर्को विद्यालयका शिक्षकबाट जाँच गराइने महाशाखाले जनाएको छ । यसबारेमा विद्यार्थीलाई जानकारी गराई सचेत बनाउन महाशाखाले भनेको छ । पाठ्यक्रमको क्रेडिट घण्टा पु¥याउन आइतबार हुने सार्वजनिक बिदामा विद्यालय सञ्चालन गर्दा महाशाखालाई कुनै आपत्ति नहुने बताइएको छ ।