हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको हेटौंडास्थित कार्यालय ।

हेटौंडाः कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण देशभर दुईसाता लक डाउन भइरहेका बेला हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले आफ्ना उपभोक्तालाई चैत महिनाको खानेपानीको न्यूनतम महसुलमा २५ प्रतिशत छुट दिने भएको छ । आज एक सूचना प्रकाशित गर्दै बोर्डले महसुलमा छुट दिने निर्णय गरेको जनाएको छ ।
यस्तै बोर्डले २०७६ साल फागुन र चैत महिनाको पानीको महशुलमा २०७७ बैशाख मसान्तसम्म भुक्तानी गर्दा जरिवाना नलिने निर्णय पनि गरेको हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्टले जानकारी दिनुभएको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतसहित बोर्डका सदस्यहरुसँगको सल्लाहअनुसार न्यूनतम् महसुलमा छुट तथा महसुल भुक्तानीमा जरिवाना नलिने निर्णय गरिएको अध्यक्ष विष्टले बताउनुभयो । लक डाउनका कारण बोर्डको नियमित काउण्टर बन्द रहेकोले विद्युतीय माध्यमहरु ई—सेवा, खल्ती, ईनेट पेमेन्ट र आईएमई पे जस्ता एप्स प्रयोग गरी खानेपानी महशुल भुक्तानी गर्ने व्यवस्था मिलाइएको पनि बोर्डले जनाएको छ । हेटौंडा खानेपानी बोर्डका १७ हजार आठ सय ग्राह्स्थ तथा व्यावसायिक उपभोक्ता छन् ।