Home मुख्य समाचार निर्मल बहुमुखी क्याम्पसको बार्षिकोत्सवः छात्रवृत्ति बजेटका लागि आग्रह

निर्मल बहुमुखी क्याम्पसको बार्षिकोत्सवः छात्रवृत्ति बजेटका लागि आग्रह

मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेती (बायाँ) लाई मायाको चिनो प्रदान गर्नुहुँदै निर्मल बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष विष्णुहरि पण्डित (दायाँ) ।

हेटौंडाः हेटौंडा–१९, बस्तिपुरस्थित निर्मल बहुमुखीको १३ औं स्थापना दिवस मंगलबार सम्पन्न भएको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष विष्णुहरि पण्डितको अध्यक्षता तथा मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीको प्रमुख आतिथ्यमा बार्षिकोत्सव समारोह भएको हो ।

बार्षिकोत्सवको अवसरमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष विष्णुहरि पण्डितले मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीलाई मनहरीबाट अध्ययन गर्न आउने विद्यार्थीलाई गाउँपालिकाबाट छात्रवृत्तिको सुविधा दिन आग्रह गर्नुभयो । गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष रञ्जन कलाखेतीलाई सम्मान गर्दै छात्रवृत्तिका लागि बजेट विनियोजन गर्न आग्रह गरिएको पण्डितले जानकारी दिनुभयो ।

निर्मल बहुमुखी क्याम्पसमा मनहरी गाउँपालिकाका विद्यार्थीको उल्लेख्य संख्यामा रहने भएकोले ग्रामीण क्षेत्रका विद्यार्थीलाई विश्वविद्यालय तहको शिक्षा प्राप्त हुने सुनिश्चित गर्न पालिकाले सहयोग गर्नुपर्ने आवश्यकता देखिएकोले बार्षिक ५ लाख रुपैयाँका दरले छात्रवृत्तिका लागि बजेट छुट्याउन आग्रह गरिएको पण्डितले बताउनुभयो । निर्मल बहुमुखी क्याम्पसमा आर्थिक अवस्था कमजोर भएका दलित, चेपाङ र जनजाति विद्यार्थी धेरै अध्ययन गर्न आउने गरेको पण्डितले जानकारी दिनुभयो ।

नवनिर्वाचित अध्यक्ष कालाखेतीले पालिकाको क्षेत्राधिकार, उपलब्ध बजेटका आधारमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त निर्मल बहुमुखी क्याम्पसमा बाणिज्य, मानविकी र शिक्षाशास्त्र संकायको स्नातक तहको पठनपाठन भइरहेको छ । क्याम्पसमा ४ सय विद्यार्थी अध्ययनरत छन् ।

Exit mobile version