
हेटौंडाः मकवानपुरमा २० वर्षभन्दा कम उमेरमै आमा बन्नेको संख्या झन बढ्दै गएको छ । मकवानपुर जिल्लाको हेटौंडा अस्पतालमा प्रसुती गराउन आउने किशोरी गर्भवतीको संख्या बढ्दै गएको हो । गत बैशाख महिनामा २२ जना २० बर्षभन्दा कम उमेरको किशोरीले अस्पतालबाट प्रसुति सेवा लिएका छन् ।
यसअघि गत फागुन महिनामा हेटौंडा अस्पतालमा २० वर्षभन्दा कम उमेरका १५ जना किशोरी आमा बनेका थिए भने चैत महिनामा १७ जना किशोरी आमा बनेका थिए । २० वर्षभन्दा कम उमेरका सबै किशोरीको पहिलो सन्तान रहेको अस्पताले जानकारी दिएको छ । गत फागुन महिनामा १७ वर्षकै उमेरमा किशोरी आमा बनेको हेटौंडा अस्पतालको प्रसुति वार्डका स्वास्थ्यकर्मीले जानकारी दिएका छन् । धेरैजसो प्रसुति गराउने महिलाको उमेर २० देखि २२ वर्षसम्म रहेको अस्पतालको तथ्याङ्कले देखाउँछ ।
स्त्री तथा प्रसुति रोग विषेशज्ञ डाक्टरका अनुसार सानै उमेरमा बसेको गर्भ र सानै उमेरमा गराएको प्रसुतिले शारीरिकरुपमा मात्र नभई, मानसिक, सामाजिक पक्षमा पनि नकारात्मक असर पुग्दछ । सानै उमेरमा प्रसुति गराउँदा शारीरिक अपरिपक्वताले बच्चा जन्माउन नसक्दा आमा र बच्चाको ज्यान जोखिमपूर्ण रहन्छ । सामाजिकरुपमा पनि अपहेलना हुने, सानै उमेर भएकाले घर व्यवहार धान्न नसक्दा र सुत्केरी भएपश्चात् ध्यान दिनुपर्ने विषयलाई नबुझ्दा विविध समस्या आउन सक्ने डाक्टरको भनाइ छ ।