हेटौंडाः मकवानपुरको बकैया गाउँपालिका–३ को वडा अध्यक्षमा नेकपा एमालेका भुमल सिं घलान र वडा नम्बर ५ मा नेपाली कांग्रेसकी लक्ष्मी जिम्बा विजयी भएका छन् ।

बुधबार बिहान सार्वजनिक मतपरिणामअनुसार घलानले १ हजार ४० मत पाएर विजयी हुँदा अर्का आकांक्षी नेपाली कांग्रेसका भक्तबहादुर भोलनले ८ सय ८८ मत पाए । यस्तै जिम्बाले ८ सय ९३ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका लालबहादुर जिम्बाले ६ सय १५ मत पाए ।

३ नम्बर वडाको सदस्यमा नेकपा एमालेकै प्यानल विजयी भएको छ । वडा सदस्यमा सुनिता बिश्वकर्मा, अर्थमान नेगी, हर्षबहादुर बल र सोममाया वाईबा निर्वाचित भएका छन् । यस्तै ५ नम्बर वडाको सदस्यमा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ ।

३ र ५ नम्बर वडाको नतीजा सार्वजनिक भएसँगै बकैया गाउँपालिकाको १२ वटै वडाको नतीजा सार्वजनिक भइसकेको छ । पालिकाका १२ वटा वडा मध्ये ५ वटा वडा (५, ९, १०, ११ र १२) को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । ४ वटा वडा (१, २, ७ र ८) को अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् भने ३ वटा वडा (३, ४ र ६) को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।