हेटौंडा उपमहानगरपालिका ३ नम्बर वडामा विजयी नेपाली कांग्रेसका उम्मेदवारहरु ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिको ३ नम्बर वडामा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । मंगलबार राती १० बजे सार्वजनिक भएको मतपरिणामअनुसार नेपाली कांग्रेसका ढलक बहादुर थापा १ हजार ५ सय ८४ मतसहित वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका रामकुमार पुडासैनीले ९ सय ४५ मत पाए । यस्तै वडा अध्यक्षका आकांक्षी नेकपा माओवादी केन्द्रका रुपेश बर्तौलाले ५ सय ९२ मत पाए । वडा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवारहरु सविना न्यौपाने, देवकी बिक, रत्नबहादुर ब्लोन र हर्कबहादुर पाख्रिन विजयी भएका छन् । ४ हजार ५ सय ६६ मतदाता रहेको ३ नम्बर वडामा बैशाख ३० गते सम्पन्न निर्वाचनमा ३ हजार ३ सय ७५ मत खसेको थियो ।

३ नम्बर वडाबाट हेटौंडा उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार नेकपा एकीकृत समाजवादीकी मीना कुमारी लामालाई १ हजार ३ सय ६० मत पाएकी छिन् भने राप्रपाका उम्मेदवार दीपक बहादुर सिंहले ९ सय ४७ मत पाए । मेयरका अर्का उम्मेदवार नेकपा एमालेका अनन्तप्रसाद पौडेलले ६ सय १४ मत पाएका छन् । यस्तै उपमेयरमा नेपाली कांग्रेसका राजेश बानियाँले १ हजार ७ सय ४५ मत पाउँदा नेकपा एमालेकी उम्मेदवार सुमित्रा काफ्लेले ८ सय ५४ मत पाएकी छिन् ।

यसअघि हेटौंडा उपमहानगरपालिकाको १ नम्बर वडा अध्यक्षमा नेपाली कांग्रेसका सविन न्यौपाने, २ नम्बर वडामा नेपाली कांग्रेसका विष्णुगोपाल महर्जन, १८ नम्बर वडामा नेकपा एमालेका अनिल कुमार बानियाँ, १९ नम्बर वडामा नेकपा एमालेकै नरनाथ सुवेदी निर्वाचित भएका छन् ।