Home मुख्य समाचार गणना छिटो गरौं

गणना छिटो गरौं

स्थानीय तहको निर्वाचनअन्तर्गत् मतदान भएको पाँच दिन भइसकेको छ । तर देशभर अहिलेसम्म आधी पालिकाको पनि नतिजा सार्वजनिक हुन सकेको छैन । मतगणनाका लागि निर्वाचन आयोगले विधि बनाएको छ । त्यसैलाई आधार बनाएर गणना गरिन्छ । कतिपय मतदान अधिकृत वा गणकहरुले छिटो पनि गरेका छन् भने कतिपय पालिकाहरुमा एउटा मतपत्रकै लागि २० देखि ३० मिनेटसम्म लाग्ने गरेको छ । मतपत्र ठूलो भएको, धेरै चिन्हमा छाप लगाएको जस्ता विषयले गणनामा ढिलाई हुने गरेको तर्क गणकहरुले गर्ने गरेका छन् । जति धेरै र ठूलो मतपत्र भए पनि छाप लगाउने जम्मा सात ठाउँमात्र हो । कुनै एक पदका लागि कतै अन्यत्र पनि छाप छ कि भनेर हेर्नुपर्दा केही ढिलो स्वभाविक हो ।

अहिलेकै शैलीमा गणना गर्ने हो भने पूर्ण नतिजा आउन एक महिनाभन्दा बढी समय लाग्ने देखिएको छ । खसेको मतका आधारमा जनशक्ति र पूर्वाधारको व्यवस्थापन गर्नु पर्दछ । जे छ त्यसैमा मात्रै गणना गर्ने हो भने पक्कै लामो समय लाग्नेछ । तर परिस्थिति र आवश्यकता अनुसार थप जनशक्ति व्यवस्थापन गर्नका लागि निर्वाचन आयोगले पनि भन्दै आएको छ । हाल गणनामा बसेका मानिसहरुलाई पनि पर्याप्त आलोपालो र आरामको व्यवस्था हुनु पर्दछ । नत्र नतिजामा गडवडी हुनसक्छ । लामो समयसम्म मतगणनामा बस्नु पर्दा कुनै पनि समयमा मानवीय त्रुटी नहोला भन्न सकिँदैन । त्यस्तो जोखिममा काम गर्नुभन्दा पर्याप्त आराम पुग्ने गरी आलोपालो गर्न जनशक्ति व्यवस्थापन हुनैपर्छ ।

दल र उम्मेद्वारका प्रतिनिधिहरुले पनि गणनालाई सहयोग गर्नु पर्दछ । जति सकिन्छ छिटो नतिजा दिनेतर्फ सबैको ध्यान हुन आवश्यक छ । गणकहरुले प्रत्येक उम्मेद्वारका प्रतिनिधिबाट सहमति लिनु परेमा अवश्य ढिलो हुन्छ । यसमा प्रतिनिधिहरुले गणकबाट गल्ती पो हुन्छ कि भनी चनाखो भने बन्नै पर्दछ । छिटो मतगणना गर्नेहरुले अपनाएको विधि लागू गर्दा पनि सहज हुने देखिन्छ । मतपत्रलाई सर्टलिस्टिङ दुई–तीन तरिकाबाट गन्न सकिन्छ । मतपत्र हेर्दा एकै चिन्हमा छाप लगाएकाहरुलाई एकाततर्फ र छ्यासमिस छाप भएकालाई अर्कोतर्फ राख्ने र अन्तिममा गणना गर्दा छिटो हुन्छ कि भन्नेतर्फ पनि ध्यान दिनु पर्दछ । यही विधिबाट गणना गर्दा छिटो भएका उदाहरण छन् ।

सामान्य विषयमा पनि विवाद गर्ने र लम्ब्याउने भन्दा तत्काल सहमति गरेर गणना चालु राख्न आवश्यक छ । मतदाताहरु आफूले दिएको मतको नतिजा सुन्न आतुर छन् । मतगणना भइरहँदा अन्य काम तथा व्यवसायसमेत प्रभावित भएको छ । अरु काम पछि गर्ने भन्दै परिणाम सुन्न जम्मा हुने गरेका हुन्छन् । जेठ ५ गतेपछि स्थानीय तहका सबै पदाधिकारीको अवधि समाप्त हुँदैछ । कानुनी प्रक्रियाका लागि पनि जेठ ५ गतेभित्र सबै नतिजा आउनु आवश्यक हुन्छ । तर धेरै पालिकाहरुको परिणाम त्यसपछि मात्र आउने देखिँदैछ । गणनास्थल थप गरेर भए पनि नागरिकको कौतुहलता छिट्टै शान्त गर्ने गरी नतिजा सार्वजनिक गर्ने व्यवस्थापन हुनु जरुरी छ ।

Exit mobile version