प्राडा विश्वराज जोशी, उपकुलपति, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान

हेटौंडाः बागमती प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतले बुधबार अर्को अन्तरिम आदेश जारी गरेको छ । मंगलबार मात्रै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. विश्वराज जोशीलाई निलम्बन गर्ने प्रदेश सरकारको प्रक्रियाविरुद्ध अन्तरिम आदेश जारी गरेको सर्वोच्च अदालतले बुधबार प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐनलाई संशोधन गरी प्रतिष्ठान र हेटौंडा अस्पताललाई अलग गर्ने निर्णयविरुद्ध अन्तरिम आदेश जारी भएको हो ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार प्रदेश सरकारलाई कारण देखाउ आदेश समेत जारी गरेको छ । गत चैत २२ गते बसेको मन्त्रीपरिषद् बैठकले प्रतिष्ठानको ऐन संशोधन गर्ने निर्णय गरेको थियो । सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको पूर्ण इजलाशले रिट निवेदनको सुनुवाई गर्दै अन्तरिम आदेश जारी गरिएको हो ।