Home मुख्य समाचार जनतालक्षित विकासको योजना ल्याउँछुः तामाङ

जनतालक्षित विकासको योजना ल्याउँछुः तामाङ

भीमफेदी गाउँपालिकामा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका बद्री तामाङ

हेटौंडाः भीमफेदी गाउँपालिकामा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका बद्री तामाङ अध्यक्षको उम्मेदवार हुनुहुन्छ । भीमफेदी गाउँपालिकामा शान्ति, रोजगारी, आर्थिक विकासको प्रतिबद्धतासहित उहाँ अहिले घरदैलो अभियानमा हुनुहुन्छ । भीमफेदी गाउँपालिकामा व्यक्ति हावी भएको भन्दै योजना र कार्यक्रमहरु सिमित व्यक्तिले मात्र पाएकाले आम सर्वसाधारणलाई लक्षित गरी योजना तथा कार्यक्रम सञ्चालन गर्ने उहाँको योजना रहेको छ ।
उहाँको मुख्य एजेण्डा भनेको समृद्ध भीमफेदी गाउँपालिका हो ।

भीमफेदी गाउँपालिका ऐतिहासिक गाउँपालिका भएकाले भीमफेदीको आम जनतालाई महशुस हुनेगरी कार्यक्रम ल्याउने उहाँको योजना रहेको छ । गाउँपालिकामा निःशुल्क स्वास्थ्य बिमा गर्ने, आवश्यक पूर्वाधार निर्माण गर्ने उहाँले जानकारी दिनुभयो । गाउँपालिका साविकको भैंसे, कोगटे, भीमफेदी, निबुवाटार, ईपापञ्चकन्या गाउँ विकास समिति र नामटारको १,२,३ नम्बर वडाहरु समटिएर बनेको हो । उहाँले भन्नुभयो, “भीमफेदी गाउँपालिका कृषिमा आधारित गाउँपालिका हो । कृषि क्षेत्रको विकास नगरी अन्य समृद्ध भीमफेदी सम्भव छैन । बैंकसँग साझेदारी गरेर सहुलियत दरमा लोन लिने व्यवस्था गर्छु । कृषि क्षेत्रलाई प्रोत्सान गर्न सकेसम्म निव्र्याजी ऋणको व्यवस्था गर्ने योजना रहेको छ ।”

समग्र विकासमा आफ्नो ध्यान रहेको भन्दै उहाँले बस्ती संरक्षण, सडक सञ्जाल, पक्की पुल निर्माणमा प्रतिबद्धता रहेको बताउनुभयो । उहाँले प्रत्येक घरमा खानेपानी, युवालक्षित कृषि तथा पशुपालनका कार्यक्रम, शिक्षा क्षेत्रको गुणस्तर विकास गरिने बताउनुभयो । भीमफेदीमा ४ दलीय गठबन्धन रहेको उहाँले जानकारी दिनुभयो । गठबन्धनको साथ आफूलाई रहेकाले पनि चुनाव जित्ने उहाँको दाबी छ । उहाँले भन्नुभयो, “भीमफेदी सम्पदाले भरिएको ठाउँ हो । यहाँ प्राकृतिक सम्पदाहरु छन् । अघिल्लो जनप्रतिनिधिले प्राकृतिक सम्पदा र त्यसको स्रोतहरुको व्यवस्थापन गर्नुभएको छैन । आम जनताको अपेक्षाअनुसार केही काम नै भएको छैन ।”

अघिल्लो जनप्रतिनिधिले भीमफेदीको स्रोत साधनको सहीरुपमा व्यवस्थापन गरेर आम सर्वसाधारणमा नपु¥याएको उहाँले दाबी गर्नुभयो । प्राकृतिक स्रोत साधनको व्यक्तिगतरुपमा प्रयोग गरिएको उहाँले आरोप लगाउनुभयो । अघिल्लो जनप्रतिनिधिको मुख्य समस्या भनेको झुटको खेती रहेको भन्दै उहाँले उनीहरुको झुट नै आफ्नो जितको आधार रहेको बताउनुभयो । जनप्रतिनिधि भनेको जनताको सेवक भएको भन्दै उहाँले जनताको सुख दुःखमा साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । भीमफेदीमा गठबन्धन मजबुद भएको भन्दै उहाँले वडा तहमा पनि गठबन्धन हुनु जितको आधार रहेको उल्लेख गर्नुभयो । उहाँले मतदाता शिक्षा वडागतरुपमा भइरहेको जानकारी दिनुभयो । भीमफेदी गाउँपालिकामा गठबन्धनका उम्मेदवारहरुको घरदैलो तथा संयुक्त चुनावी सभा तीव्र गतिमा भइरहेको छ ।

Exit mobile version