Home मुख्य समाचार भ्रष्टाचारमुक्त नगरपालिका बनाउँछुः सिंह

भ्रष्टाचारमुक्त नगरपालिका बनाउँछुः सिंह

दीपक बहादुर सिंह

हेटौंडाः आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा हेटौंडा उपमाहानगरपालिकाको मेयर पदका उम्मेदवार दीपकबहादुर सिंहले आफू मेयर भएपश्चात् नगरपालिकालाई भ्रष्टाचारमुक्त नगरपालिका बनाउने बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयरको उम्मेदवार बन्नुभएका सिंहले मंगलबार पत्रकार सम्मेलन गर्दै नगरपालिकामा कतिपय कार्य गर्न कर्मचारीले ढिलासुस्ती गर्ने भएकाले आफूले मेयर भएपछि नगरबासीको कामलाई छिटो र सरल बनाउने बताउनुभएको हो ।

उहाँले आफू मेयर भएपश्चात् आफूलाई प्राप्त हुने सरकारी सेवा सुविधा पनि नलिने बताउनु भएको छ । सरकारबाट प्राप्त हुने तलब भत्तामा आफूले व्यक्तिगत दुई सय प्रतिशत थप गरी प्रत्येक वडामा विकासका लागि खर्च गर्ने उहाँले बताउनुभएको छ । हेटौंडाका प्रत्येक वडाका वृद्ध–वृद्धाहरुलाई घरघरमै वृद्धभत्ता लगेर दिने व्यवस्था गर्ने सिंहले बताउनुभयो । हेटौंडामा स्वास्थ्य क्षेत्रमा सुधार गर्ने उहाँले दावी गर्नुभयो । गम्भीर बिरामी भएमा अन्यत्रको अस्पतालमा जानुपर्ने समस्या अहिले भएकाले आफूले दक्ष जनशक्तिको व्यवस्थापन गर्नसक्ने सिंहको भनाई छ ।

राम्रो मान्छेभन्दा आफ्नोे कार्याकर्ताको लागि मात्र अन्य पार्टीका नेताहरुले कार्य गरेको र आफ्नो मान्छेको मात्रै विकास गर्ने अरु पार्टीको धारणा भएको भन्दै सिंहले आफू मेयर भएपश्चात् कुनैपनि पक्षपात नगर्ने बताउनुभयो । मेयर भएपश्चात् आफ्नो कार्यकालमा कुनै दलको नेता नभई सबैको साझा मेयर भएर काम गर्ने उहाँले बताउनुभयो । आगामी बैशाख २५ गते हेटौंडामा राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनावी सभा गर्ने भएको छ । उक्त सभालाई सम्बोधन गर्न राष्ट्रिय प्रजतन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन आउनुहुने बताइएको छ ।

Exit mobile version