हेटौंडाः आज मई १ तारिख । विश्वभर श्रमिक मजदुरहरुले मई दिवस मनाउँदैछन् । नेपालमा यो दिवस विशेष गरी श्रमिक मजदुरका विभिन्न संगठन एवम् राजनीतिक दलहरुले विभिन्न कार्यक्रम गरी मनाउने गरिएको छ ।

पछिल्ला दुई वर्ष कोरोना भाइरस संक्रमण जोखिमका कारण भएको लकडाउनका कारण खुलेर मनाउन नपाइएको दिवस यस वर्ष संक्रमणको जोखिम कम रहेका कारण सहजताका साथ मनाउन पाइने भएको छ । विभिन्न संगठित क्षेत्रमा कार्यरत मजदुरहरुका आधिकारिक ट्रेड युनियन तथा राजनीतिक दलसम्बद्ध मजदुर संगठनहरुले विभिन्न कार्यक्रम गरी मई दिवस मनाउँदैछन् ।

यसवर्ष देशव्यापीरुपमा स्थानीय तह सदस्य निर्वाचनको सरगर्मी चलिरहेको कारण राजनीतिकरुपमा यो दिवस थप महत्वपूर्ण बनेको छ । राजनीतिक दलहरु श्रमिक मजदुरको समस्या समाधानका नारा बोकेर निर्वाचनमा होमिएका कारण पनि निर्वाचन प्रचारप्रसारका क्रममा यस दिवसको चर्चा हुने भएको छ । हेटौंडामा पनि आज मई दिवसको अवसर पारेर नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई प्रमुख अतिथि बनाएर र्‍यालीसहित आमसभा गर्दैछ ।
‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’को माग गर्दै सुरु भएको मजदुर आन्दोलनको उपलब्धीको रुपमा मई दिवसलाई स्मरण गर्दै विश्वभर मनाइँदै आएको छ । सन् १८८६ मा अमेरिकाको शिकागोमा मजदुर अधिकारका लागि भएको आन्दोलनको उपलब्धीको रुपमा यो दिवस मनाउने गरिएको हो । मजदुर आन्दोलनका क्रममा भएको वम विष्फोट आन्दोलनरत मजदुरहरुले नै गराएको आरोप लगाउँदै प्रहरीले मजदुरमाथि व्यापक दमन गरेपछि मजदुर आन्दोलनले थप सशक्त भएको थियो ।

प्रहरीको गोली लागेर धेरै मजदुरको मृत्यु हुँदासमेत आन्दोलनलाई निरन्तरता दिएर मजदुरहरुले आफ्नो अधिकार प्राप्ति गरेको इतिहासलाई स्मरण गर्दै मजदुर दिवस मनाउने गरिएको हो । सन् १८८९ मा फ्रान्सको राजधानी पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवम् श्रमिक नेताहरुको बैठकले विश्व श्रमिक मजदुर दिवस विश्वभर मनाउने निर्णय गरेपछि सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखलाई श्रमिक दिवसको रुपमा मनाउन थालिएको हो । नेपालमा भने वि.सं २००७ सालमा भएको विराटनगरको मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो ।

नेपाललगायत विश्वभरका मजदुरले यस दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना अधिकारको सुनिश्चितता तथा प्राप्त उपलब्धी रक्षाका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गर्दछन् । मजदुरको हक अधिकार प्राप्तिका लागि आजभन्दा १३३ वर्षअघि सबै मजदुर एकजुट भएर आन्दोलन गर्दा अधिकार प्राप्त भएको स्मरणमा मई दिवस मनाउने क्रममा नेपालमा भने मजदुरहरु विभक्त हुने गरेका छन् । विशेषगरी विभिन्न राजनीतिक दलसम्बद्ध मजदुरहरुको अलगअलग संगठन भएका कारण मजदुरहरु एकजुट हुन सकिरहेका छैनन् । मजदुर दिवस मनाउनेक्रममा “विश्वका मजदुर एक होऔं” भनेर नारा लगाउने गरेको भए पनि सबै मजदुर एकजुट हुन नसक्दा दिवसको सार्थकता बन्न सकेको छैन भने मजदुरले सहजै अधिकार पाउन सकेका छैनन् ।