साहित्यकार मसान उपासकको कविता संग्रह “मानचित्रमा देश” र गजल संग्रह “अक्षर आराधन” कृति विमोचन गर्दै अतिथिहरु ।

हेटौंडाः मकवानपुरका कवि, गजलकार र पत्रकार मसान उपासकको कविता संग्रह “मानचित्रमा देश” र गजल संग्रह “अक्षर आराधन” कृति विमोचन गरेको छ । बुधबार साहित्य संगम मकवानपुरको आयोजनामा एक कार्यक्रमबीच उपासकको दुई कृति विमोचन गरिएको हो ।

पुस्तक विमोचन कार्यक्रमका प्रमुख अतिथि साहित्यकार प्रा.डा जीवेन्द्रदेव गिरीले उत्कृष्ट विषयवस्तु र शब्दको चयनले समाज परिवर्तनमा कृति उपयोगी हुने बताउनुभएको छ । ६४ पृष्ठको “अक्षर आराधन” गजल संग्रहमा ५७ वटा गजल समेटिएको छ । “मानचित्रमा देश” कविता संग्रहमा ४६ वटा शिर्षकमा कविता समेटिएको छ । कोरोना महामारीमा जनताले भोगेका समस्यासँगै सामाजिक तथा राजनितिक विकृति र विसङ्गति विरुद्व चोटिलो प्रहार लेखकले कृति मार्फत् गरेको अतिथिहरुको भनाई छ । साहित्य संगम मकवानपुरकी अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिल, साहित्यकार आरसी रिजाल लगायत साहित्यकारहरुको उपस्थिति रहेको थियो ।