हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकामा नेकपा एमालेले स्थानीय निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएको छ । आइतबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर एमालेका उम्मेदवारले उम्मेदवारी दर्ता गराएको हो । बाजागाजासहित एमालेका नेता, कार्यकर्ताको उल्लेख्य उपस्थितिमा गाउँपालिकाको अध्यक्षमा एकराज उप्रेती र उपाध्यक्षमा सुजिता थिङले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
अध्यक्षका उम्मेदवार एकराज उप्रेतीको प्रस्तावकमा हेमलाल उप्रेती र समर्थकमा रामहरि विष्ट रहनुभएको छ । यस्तै उपाध्यक्ष सुजिता थिङको प्रस्तावकमा विष्णुप्रसाद अधिकारी र समर्थकमा महेन्द्र राज खड्का रहनुभएको छ । नेकपा एमालेबाट मनहरी गाउँपालिकाको वडा नम्बर १ मा भीमसेन अधिकारी, २ मा निमा लामा, ३ मा मानबहादुर बल, ४ मा रविन ढकाल, ५ मा किशोर बर्तौला, ६ मा गोपी लामा, ७ मा नारायण सिं घिसिङ, ८ मा पुस्कर सुवेदी र ९ मा लक्ष्मण उप्रेती अध्यक्षको उम्मेदवारी दर्ता गराएका छन् ।
एमालेले एकसाथ गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यको उम्मेदवारी दर्ता गराएको अध्यक्षका उम्मेदवार एकराज उप्रेतीले जानकारी दिनुभएको छ । २०७४ सालको निर्वाचनमा नेकपा एमालेले मनहरी गाउँपालिकाको ३, ५, ६ र ८ नम्बर वडा अध्यक्षमासहित गाउँपालिका अध्यक्ष र उपाध्यक्ष जितेको थियो । यस्तै ९ नम्बर वडामा पनि एमालेको बागी उम्मेदवारले अध्यक्ष जितेको थियो ।
