Home मुख्य समाचार पत्रकार आचारसंहिताको पालना गर्न अपिल

पत्रकार आचारसंहिताको पालना गर्न अपिल

नेपाल पत्रकार महासंघले जारी गरेको प्रेस विज्ञप्ती

हेटौंडाः नेपाल पत्रकार महासंघले आसन्न स्थानीय निर्वाचनमा महासंघका सबै सदस्यहरुलाई पत्रकार आचारसंहिता पालना गर्दै तटस्थ भूमिका निर्वाह गर्न अपिल गरेको छ । बिहीबार केन्द्रीय समितिको पाँचौं पूर्ण बैठकले पत्रकार आचारसंहिता पालना गर्न आग्रह गरेको हो ।

महासंघको सदस्यता प्राप्त गरेका सदस्यले निर्वाचनमा उम्मेदवारी बन्न चाहेमा महासंघको गरिमा, साख र साझा चरित्रको ख्याल गर्दै सदस्यता परित्याग गरेर मात्र उम्मेदवारी बन्न बैठकले आह्वान गरेको छ । यस्तै, महासंघको कुनै पनि संरचनामा रहेका पदाधिकारी वा सदस्यहरु उम्मेदवार बनेमा महासंघको विधानको मर्म र व्यवस्थाअनुसार सोही समयदेखि कायम रहेको पदबाट स्वतः मुक्त हुने बैठकले निर्णय गरेको छ ।

निर्वाचनको समयमा महासंघका सदस्यहरुको भूमिकाको अनुगमन गरी यथार्थ विवरण संकलन गर्न महासंघको आचारसंहिता अनुगमन विभाग र अनुशासन समितिलाई जिम्मा दिने निर्णय बैठकले गरेको छ । नेपाल पत्रकार महासंघको केन्द्रिय अध्यक्ष विपुल पोखरेलको अध्यक्षतामा बैठक बसेको थियो ।

Exit mobile version