
हेटौंडाः मनहरी गाउँपालिका–४, मसिनेस्थित पशुपतिनाथ माविको नवनिर्मित विद्यालय भवन सोमबार हस्तान्तरण गरिएको छ । २०७२ सालको बिनाशकारी भूकम्पका कारण क्षति पुगेको विद्यालयमा नेपाल सरकारले दातृनिकाय एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा ९ वटा कक्षाकोठाको भवन निर्माण गरिएको थियो ।
पशुपतिनाथ मावि व्यवस्थापन समितिका अध्यक्ष माधव गौतमको सभाध्यक्षतामा भएको कार्यक्रममा निर्माण कम्पनीका तर्फबाट विद्यालय भवन सम्पन्न प्रमाणपत्र शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख दिनानाथ गौतमलाई हस्तान्तरण गरिएको थियो । इकाई प्रमुख गौतमले स्थानीय सरकारको रुपमा रहेको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीलाई र पालिका अध्यक्ष उप्रेतीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गौतमलाई भवन हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष उप्रेतीले पशुपतिनाथ माविले भौतिक पूर्वाधारमा राम्रो काम गरेको बताउँदै आगामी दिनमा गुणस्तरीय शिक्षामा जोड दिन आग्रह गर्नुभयो । इकाई प्रमुख गौतमले भूकम्पप्रतिरोधि भवन ३ करोड ८ लाख रुपैयाँमा निर्माण सम्पन्न भएको बताउँदै थप १३ वटा कक्षाकोठालाई पौने २ करोड रुपैयाँको लागतमा प्रवलीकरण गर्ने कार्य जारी रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा वडाअध्यक्ष ध्रुब खड्काले बिगतमा छाप्रोमा संचालनमा आएको विद्यालयको भौतिक संरचनामा निकै सुधार आएको र आगामी दिनमा बालबालिका निर्भयका साथ अध्ययन गर्न पाउने बताउनुभयो । विद्यालयका पूर्वप्रधानाध्यापक एवम् नेपाल सरकारका सेवानिवृत्त अधिकृत तीर्थराज पराजुलीले विद्यालयको ईतिहासलाई बिर्सन नहुने कुरामा जोड दिँदै सबैले हातेमालो गरेर लक्ष्यमा पुग्न सकिने बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्य, शिक्षक ईश्वर रिजालले विगतमा मन्दिरको सत्तलमा कक्षा संचालन गरी स्थानीय बालबालिकालाई शिक्षा प्रदान गरेको स्मरण गर्दै विद्यालयको आगामी दिन उज्ज्वल रहेको बताउनुभयो । वनकरिया समुदायका बालबालिका अध्ययन गर्ने नेपालकै एकमात्र माध्यमिक विद्यालयको रुपमा रहेको पशुपतिनाथ माविमा करिब ५ सय बालबालिका अध्ययन गरिरहेका छन् ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका शाखाअधिकृत तथा सूचना अधिकारी कृष्ण प्रसाद पौडेल, मनहरी गाउँपालिकाका शिक्षा प्रमुख हरिचन्द्र सापकोटा, स्रोतशिक्षक पूर्णभद्र भुषाल, समाजसेवी भरत पराजुली, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्षहरु चन्द्रबहादुर न्यौपाने, बालमुकुन्द ढकाल, रामहरि बिष्ट, पवन खड्का, पुरुषोत्तम बिष्ट, शिक्षक अभिभावक संघका संयोजक ऋषिराम गौतम, भवन निर्माण कार्यमा संलग्न ईन्जिनियर मुकेश जैसवाल, सन्दिप बिष्टलगायतको सहभागिता रहेको थियो ।