हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकामा नेपाल सरकारले सञ्चालन गरेको प्रधानमन्त्री रोजगार कार्यक्रममा नै बालबालिका प्रयोग भएको पाइएको छ । रोजगारको नाममा बालबालिकालाई श्रममा प्रयोग गरिएको भन्दै मनहरी गाउँपालिका बाल सञ्जालले शिक्षा शाखा तथा सम्बन्धित वडालाई सोमबार ध्यानाकर्षण पत्र बुझाएको हो ।
बालश्रम न्युनिकरणमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउने उद्देश्यले पत्र बुझाएको सञ्जालका अध्यक्ष अशिष बुढाथोकीले बताउनुभयो । यसैगरी, अहिलेको वर्तमान अवस्थामा विद्यालय तहकै बालबालिका लागूऔषधमा फस्दै गएको अवस्था सम्बन्धित निकायको तथ्यांकले स्वीकारेको अवस्था छ । मनहरीमा रहेका विद्यालय तहका बालबालिका धुम्रपान, मद्यमान जस्ता लागूपदार्थ सेवन गर्ने गरेको पाइएको छ । भविष्यका कर्णधार बालबालिकाको भविष्यलाई मध्यनजर गर्दै बालसञ्जालले विद्यालय वरपर पाइने यस्ता लागूपदार्थको नियन्त्रण र विद्यालयमा समेत कडा निगरानी हुनुपर्ने भन्दै ध्यानाकर्षण गराएका छन् ।