हेटौंडाः मकवानपुरगढी गाउँपालिकालाई आज बालमैत्री गाउँपालिका घोषणा गरिएको छ । आज शनिबार विशेष समारोह बीच बागमति प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा बालमैत्री गाउँपालिका घोषणा गरिएको हो ।
कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुम्मागाईको सभाध्यक्षता रहेको थियो । कार्यक्रममा गाउँपालिकाको अध्यक्ष बिदुर हुमागाईले बालमैत्री कार्यान्वयन गर्न सबै स्थानीय सक्रिय हुनुपर्ने बताउनुभयो । सम्पुर्ण क्रियाकलापको अभियानमा सबै पक्षको सहकार्य र साथबाट सुशासन सहितको गढी गाउँपालिका निर्माणमा सहज भएकोमा खुसी व्यक्त गर्नुभयो । बालबालिकाको क्षेत्रमा गरिएको लागानिले समृद्धिको सुनौलो बिहानी सुनिश्चित गर्ने अपेक्षाका साथ बालमैत्री अभियानमा लागेको उहाँको भनाइ छ ।
गाउँपालिकाको सामाजिक, साँस्कृतिक विकासमा बालबालिकामा गरिएको लागानी मात्रै दिगो समृद्धिको बाटोतर्फ अगाडि बढ्न सक्ने भएकाले बालमैत्री क्रियाकलापलाई अगाडि बढाएको बताउनुभयो । आर्थिक बर्ष २०७६/७७ मा बालमैत्री स्थानीय तह घोषणाको तयारी गर्ने निर्णय गरेको मकवानपुरगढी गाउँपालिकाले २०७७ साल माघ १९ र २० गते बालमैत्री स्थानीय शासन नीति अवलम्बन गर्ने सामुहिक प्रतिबद्धता गरेको अध्यक्ष हुमागाईले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रदेश सरकारका सामाजिक विकास मन्त्री कुमारी मोक्तान र राजनीतिक क्षेत्रमा प्रतिनिधित्व गर्ने प्रतिनिधि, बालबालिका लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो । समारोहमा गायकहरु प्रकाश तामाङ, स्वस्तिका ढकाल र निसान भट्ठराईकोे प्रस्तुति रहेको थियो । कार्यक्रममा बालमैत्री र्यालि, झाँकि साथमा पञ्चे बाजा, खैचडी भजन पनि प्रस्तुत गरिएको थियो ।











